विराटनगर , ‘बा’ले गर्दै आएको परम्परागत तरकारी खेतीलाई २२ वर्षे युवा मनोज मण्डलले सुधार गरेर आधुनिक प्रणालीमा लैजानुभयो । औपचारिक तालिम र तरकारी खेतीसम्बन्धी शिक्षा नलिएका मण्डलले ‘युट्युब’ हेरेर आधुनिक खेती गर्नुभएको हो ।उहाँले युट्युबमै हेरेरै बीउ, मल, औषधि र त्यसको मात्रा आदिबारे जानकारी लिनुभयो । १० कक्षासम्मको औपचारिक शिक्षा लिनुभएका मनोज विदेश जाने तर्खरमा हुनुहुन्थ्यो तर नेपालमै पैसा कमाउने विश्वासले आधुनिक तरकारी खेतीका लागि उहाँले ‘बा’लाई पालो दिन थाल्नुभयो ।

विराटनगर–४, इक्राहीमा करिब एक बिघा जमिन भाडामा लिएर तरकारी खेती विस्तार गर्नुभएका उहाँले १० कट्ठामा गोलभेँडा रोप्नुभएको छ । गोलभेँडा लटरम्म फलेको छ, बोटमै पाकिरहेको छ ।अघिल्लो वर्षदेखि तरकारी खेतीमा रमाइरहनुभएका मनोज अहिले निराश हुनुभएको छ । १० कट्ठामा २५ सय बोटमा लटरम्म गोलभेँडा फलेका छन् । एउटा बोटमा कम्तीमा पनि २० किलो फसल हुन्छ । अहिले उत्पादनको मुख्य सिजन हो तर १५ दिनयता उहाँले गोलभेँडा टिप्नुभएको छैन । लाखौँको उत्पादन बोटमै कुहिने अवस्था आएकामा मनोजलाई डर लागिरहेको छ ।

मनोज भन्नुहुन्छ, व्यापारी किन्न आए आजै २० टन गोलभेँडा दिनसक्छु तर बिक्री नै हुँदैन, पहिले जसले मेरो उत्पादन लैजान्थ्यो बन्दीले गर्दा ग्राहक पनि आउनै छाडे । बन्दाबन्दीअघि दैनिक तीन टन गोलभेँडा बेच्दै आउनुभएका मनोजले अहिले स्थानीय व्यापारीलाई मुस्किलले तीन÷चार क्विन्टल मात्र बेचिरहनुभएको छ । अब धेरै दिन बोटमा गोलभेँडा राख्नसक्ने अवस्था पनि छैन । उहाँको गोलभेँडा नष्ट हुने करिब निश्चित छ । मनोजलाई यसपटक गोलभँेडा खेतीबाट लाखौँको नोक्सानी हुने डर लागेको छ । म पैसा कमाउन अलिअलि भएको सम्पत्ति खेतीमै लगाएर यतै बसेको थिएँ तर यसपटक धेरै घाटा हुने देख्दै छु, अर्को खेती कसरी गर्ने भनेर चिन्ता लाग्न थालेको छ ।

उहाँ मात्र होइन इक्राहीका करिब एक दर्जन किसानले आफ्नो उत्पादन बजारमा पठाउन सकेका छैनन् । गोलभेँडा खेती गर्ने अलि बढी मारमा छन् । सहज अवस्थामा ढल्केवरबाट व्यापारी आउँथे । गाडीमा लोड गरेर लैजान्थे । उत्पादन बिक्री गर्न खासै गाह्रो थिएन तर अहिले अवस्था सहज छैन । त्यसैले बिक्री गर्न गाह्रो परेको हो ।इक्राहीकै सुनिता बिनको पनि उस्तै गुनासो छ । उहाँको खेतभर फर्सीका कैँडा बग्रेल्ती छन् । फर्सी फलेको छ तर बजार लैजान पाएको छैन, सुनिताले भन्नुभयो, बूढाले सिटी सफारीमा राखेर अलिअलि चोकतिर लैजानुहुन्छ, प्रहरीले लखेटिहाल्छ । त्यसै फर्किनुहुन्छ ।

सुनिताले एक बिघा खेतमा फर्सी खेती गर्नुभएको छ । गिनरीको साग पनि छ खेतमा । गिनरी फुल्न थालिसक्यो तर बेच्ने ठाउँ नै छैन, उहाँले भन्नुभयो ।इक्राहीमा केही दिनअघि सरकारले विपन्नलाई राहत वितरण ग¥यो । उनीहरूको थोरै भए पनि समस्या समाधान भयो तर आफ्नो बीउ पुँजीसमेत मासिने अवस्थामा पुगेका किसानबारे सरकारले केही पनि नबोलेकामा मनोज र सुनिताले प्रश्न गरेका छन् । गोरखापत्र दैनिक