गलकोट, गलकोट नगरपालिका वडा नं ५ र वडा नं ६ जोड्ने राजाको झोलुङे पुलको जिर्ण बन्दा जोखीम मोलेर यात्रा गर्ने यात्रुको सहजताको लागी करिव २ लाखको लागतमा काठको पुल निर्माण भएको छ । गलकोट नगरपालिका ५ र ६ जोड्ने दरमखोलाको राजाको झोलुङ्गे पुल जीर्ण बन्दा स्थानियलाई जोखिम मोलेरै भएपनि यात्रा गनुपर्ने बाध्यतालाई मध्येनजर गरि अस्थाइ रुपमा भएपनि आवतजावतलाई सहज बनाउन काठको पुल निर्माण गरिएको राजाको झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर थापाको भनाई छ ।

थापाका अनुसार झोलुङ्गे पुलको निर्माणको लागी प्राबिधीक तथा प्रक्रियागत कामको क्रममा केही समय लाग्ने भएकोले अस्थाई रुपमा भएपनि आतजावतलाई सहजता प्रदान गर्न काठको अस्थाई पुल निर्माण गरिएको हो । खोलाको दुबै तर्फ १० ओटा जाली राखिएको छ भने ५ ओटा होमपाईप भाडा लिएर खोलामा राखिएको छ ।करिव २० मिटर लामो १ मिटर चौडाई रहेको पुल निर्माण गरिएको छ । सम्भावित जोखीमको अबस्थालाई मध्येनजर गरि ५ दिनमै निर्माण सम्पन्न गरिएको समितिका सचिव किशान बुढाथोकीले बताउनुभयो ।

राजाको झोलुङ्गे पुलको बिचमा राखिएका काठको फल्याकहरु कुहिदा पुल जिर्ण बनेको थियो भने पुलका २ ओटा लठा छिनेपछि पुल निकै जिर्ण बनेको हो ।पुलको सतहमा रहेका फ्ल्याक त कुहिदा ठाउँठाउमा प्वाल परेको छ नै पुलको लठा समेत तन्कदा पुलको लठ्ठा बढी हल्लिने गरेको थियो । अस्थाई रुपमा काठको पुल निर्माणको लागी काठ ग्याविन जाली लगाएत का सबै कामको लागी करिब २ लाख खर्च भएको निर्माण समितिले जनाएको छ ।गलकोट नगरपालिकाले चालु आर्थिक बर्षमा राजाको झोलुङ्गे पुल निर्माणको लागी ९ लाख बजेट बिनियोजन गरेको छ ।

पुलको प्राबिधीक काम, लठाको ब्यबस्थापन जस्ता काम लकडाउनको कारण अगाडि बढ्न सकेको छैन् । पुल निर्माणको लागी निर्माण तथा उपभोक्ता समितिको गठन समेत गरिएको छ ।पुल निर्माणको लागी करिव १५–१६ लाख खर्च लाग्ने भएकोले गलकोट नगरपालिकाबाट बिनियोजित बजेट बाहेक अन्य बजेट स्थानियको स्वतस्फुर्त सहभागितामा ब्यबस्थापन गर्ने गलकोट नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष नारायण ध्वज मल्लले बताउनभुयो । अध्यक्ष मल्लले अस्थाई रुपमा निर्माण गरिएको काठको पुलबाट सवारी नचलाउन समेत आग्रह गर्नुभयो ।

पुलको छेउमा अहिले मोटरेबल पुल निर्माणाधिन अबस्थामा रहेको छ ।निर्माण कम्पनीले उत्त मोटरेवल पुल निर्माणलाई निरन्तरता दिन नसक्दा उत्त पुल निर्माणको काम समेत अलपत्र परेको छ । नजिकै कुनै पुल नुहँदा राजाको पुलमा जोखीम मोलेर भएपनि हिड्नुपर्ने बाध्यता रहेको राम बहादुर खत्रीको भनाई छ ।रैथाने प्रबिधीबाट निर्माण गरिएको राजाको झोलुङ्गे पुल समयमै मर्मत नहुदाँ समस्या श्रृजना भएका अवस्थामा काठको पुल निर्माण भएपछि केही सहजता मिलेको स्थानियको भनाई छ । सरोकारवाला निकायहरुको समयमै ध्यान जान नसक्दा गल्कोटको चिनारीको रुपमा रहेको राजाको पुल धरापमा रहन पुगेको हो ।