दिक्तेल बजारका २० ठाँउमा फाइरिङ गेट राख्ने निर्णय

खोटाङ । खोटाङको दिक्तेल बजारलाई आगलागीबाट जोगाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शहरी खानेपानी आयोजनाको संयुक्त लगानीमा फायरिङ गेट जडान गरिने भएको छ ।जस्तापाताको छाना तथा ढुङ्गा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घरहरु भएका दिक्तेल बजारमा आगोलागीका कारण वर्षेनी करोडौको क्षति हँुदै आएकाले आगलागीका कारण धनजनको क्षतिबाट बचाउनका लागि दिक्तेलबजारका २० स्थानमा फाइरिङ गेट राखिने भएको नगरप्रमुख दिपनारायण रिजालका राजनीतिक सल्लाहकार कमल ढकालले जानकारी दिए ।

फायरिङ गेट जडान गर्नका लागि नगरपालिकाको तर्फबाट रु १५ लाख र बाँकी शहरी खानेपानी आयोजनाको बजेट लगानी गरिने जनाइएको छ । नगरप्रमुख दिपनारायण रिजालका अनुसार दिक्तेल बजारमा सञ्चालन हुने खानेपानी आयोजनाको मुख्य पाइपमा फायरिङ गेटको पाइप जडान गरेर आवश्यक परेको खण्डमा प्रयोग गर्न सकिनेछ । फाइरिङ गेट राखेको स्थानबाट एक सय मिटरको सम्मको क्षेत्रमा आगोलागी भएमा गेटमा फाइरिङ पाइप जोडेर आगलागी नियन्त्रणमा लिन सहजै सकिने छ ।नगरपालिका र शहरी खानेपानी आयोजना उपभोक्ता समितिबीच शुक्रबार बसेको बैठकले दिक्तेल बजारको विभिन्न ठाउँमा फायरिङ गेट राख्ने निर्णय गरेको जनाइएको छ ।