कोरोना नेगेटिभ भएकी मलाई त यस्तो व्यवहार, पोजेटिभ हुनेलाई कस्तो होला ? घृणा होइन माया दिऊ !

प्रजिना रेग्मी, म सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा स्टाफ नर्सको रुपमा कार्यरत छु । अहिले भक्तपुर जिल्ला अस्पतालको आइसोलेसन वार्डमा छु। हाल ममा कोरोना भाइरसको संक्रमण छैन । एक रात मसँगै बसेकी साथी लाई कोरोना पोजेटिभ देखिएपछि म क्वारेन्टाइनमा बसेको हुँ। संक्रमित मेरी साथी रिपोर्ट नेगेटिभ आएपछि हिजै अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन्। मेरो चाँही भाइरस संक्रमण देखिनसक्ने समय (इन्क्यूवेसन पिरियड) बाँकी रहेकाले म आइसोलेसनमै छु ।म मेडिकल क्षेत्रकै व्यक्ति भएपनि अचम्मको अनुभव भइरहेको छ।

मलाई पनि कोरोना पोजेटिभ भएको भन्ने हल्ला भइसकेको रहेछ । समाजले साँच्चिकै नराम्रो दृष्टिकोणले हेर्ने रहेछन् । मलाई देख्नेवित्तिकै सबैले मुखामुख गरेर हेर्नथाले । मेरी साथी सुनसरीबाट आएकी थिइन् । उनी ललितपुरको एक अस्पतालमा कार्यरत छिन् । उनी सुनसरीबाट सिधै टेकु अस्पताल गएर कोरोना परीक्षणका लागि स्वाब दिएर मेरो कोठामा आएकी थिइन्। मैले साथीलाई कसरी नआइज भन्नु, मेरो नैतिकताले पनि नदिने भएकाले हुन्छ आउ भने । हामीसँगै बस्यौँ । भोलिपल्ट राति साढे ९ बजेतिर साथीलाई टेकुबाट फोन आयो, तपाईको रिपोर्ट पोजेटिभ देखियो, आफैँ आउनुहुन्छ कि लिन आउनपर्छ ? भनियो ।

हामी त बोल्नै सकेनौं । कल्पना नै नगरेको कुरा । कुनै लक्षण देखिएको थिएन । अस्पतालमा काम गर्ने अनि उपत्यका बाहिरबाट आएकाले भनी एकपटक परीक्षण गराउन त भनेर गर्दा रिपोर्ट पोजेटिभ आयोे ।टेकुबाट फोन आएपछि मैले आफू कार्यरत अस्पतालमा यसबारे जानकारी गराँए । हामी सामानहरु प्याक गरेर तयारी भएर बस्यौँ । लिनलाई एम्बुलेन्स आयो। आफू डेरामा बस्ने घरअगाडि नै एम्बुलेन्स आउँदा के–के न भयो जसरी खैलाबैला मच्चिन्छ भनरे मैले अलि परै एम्बुलेन्स रोक्न लगाँए र साथीलाई एम्बुलेन्ससम्म पुर्‍याएँ । साथीको आँखाभरि आँसु थियो ।

उनी म पनि सँगै गइदिए हुन्थ्यो जसरी डराउदै बोलिरहेकी थिइन् । एम्बुलेन्स रोकेको स्थानमा सबैले छतबाट हेरिरहेका थिए । मलाई कस्तो–कस्तो महसुस भयो। ठूलो अपराध गरेकोजस्तै झल्किने दृश्य थियो त्यो । लाइन लागेर हेरिरने कसैले पनि पीर नगर नानी केहीे भएको छैन, भएपनि ठीक भइहाल्छ भन्न सकेनन् । हौसला दिन सकेनन् । बरु कराए। तराईबाट आएको भन्दाभन्दै किन साथीलाई राखेको ? भनेर गाली गरे। तारम्तार फोन आएको आयै गर्‍यो । मैले त मेरी साथीलाई सहयोग न गरेको हो । साथीलाई टेकु अस्पताल लगियो भने मलाई भक्तपुर जिल्ला अस्पताल ।

स्वाब लिएर फर्किसकेपछि पनि डर लागिरह्यो । नेगेटिभ हुँदा त मलाई हेर्ने दृष्टिकोण यति नकारात्मक छ भने पोजेटिभ आएमा समाजले के भन्ला भन्ने सोचेर निकै तनाब भयो । म बसेको भवन र कार्यरत अस्पताल सँगै छ। मैले झ्यालबाट हेर्थेँ चिनेको कोही देख्छु कि भनेर । साह्रै गाह्रो भयो । तर मेरो रिपोर्ट नेगेटिभ आइसकेको छ। अब म पनि केही दिनमा बाहिर निस्कनेछु। मलाई अस्पतालका सिस्टरहरुले आफूलाई चाहिने समान घरबाट मगाउनुहोस् भन्नुभयो तर मेरो त यहाँ कोही आफन्त पनि थिएनन् मैले एकजना साथीलाई फोन गरेर सामानहरु मगाएँ ।

सिस्टरहरु भन्नुहुन्छ केही असहज भए खबर गर्नुहोला पानी चाहिए भन्नुहोला अनि ढोकामा ल्याइदिनुहुन्छ । मलाई यहाँ राम्रो व्यवस्था छ । यस्तो बेला सबैको माया चाहिने रहेछ । मलाई सबैले माया गर्नुभएको छ । सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु ।किन अहिले कोरोनाका बिरामी भन्नेवित्तिकै यतिविधि घृणाको व्यवहार गरिन्छ ? किन यस्तो भइरहेको छ ? मैले पनि बुझेको छैन । यो त एउटा रोग न हो जोसुकैलाई लाग्न सक्छ । यसबाट बच्न सावधानी अपनाउने हो घृणालाई विकास गर्ने होइन । कोरोना लाग्यो भन्दापनि समाजमा पुर्नस्थापना कसरी हुने भन्ने पीरले बिरामीमा अर्काे रोग थपिने डर पो देखेँ मैले ।

कोरोना संक्रमितलाई एकदमै नराम्रो दृष्टिकोणले हेरिने गरेको छ। के यसबाट एकजना दुई जना बिरामी भएका हुन् र ? विश्वका लाखौं मानिस यसको शिकार भइरहेका छन् । लाखौं मानिस निको पनि भएका छन् । त्यसैले अहिले संक्रमितलाई घृणा होइन, माया, हौसला र साथको आवश्यकता छ । भातृत्व र सुसम्बन्धको खाँचो छ । सहज पुर्नस्थापनाको जरुरी छ ।