नेपालमा सोमबार इद मनाउने निर्णय, सार्वजनिक बिदा सार्न सरकारलाई आयोगको सिफारिस

काठमान्डौ , नेपालका इस्लाम धर्मावलम्बीले सोमबार इदउल फित्र मनाउने भएका छन्। शनिबार चांद नदेखिएकाले जेठ १२ गते सोमबार नेपालमा इदउल फित्र मनाउने निर्णय भएको मुस्लिम आयोगले जनाएको छ। चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले शनिबार नेपालभरि चन्द्रमा नदेखिएकाले सरोकारवालाको सल्लाह तथा सुझाबमा जेठ १२ गते सोमबार इद मनाउने निर्णय भएको आयोगका अध्यक्ष समिम अन्सारीले बताएका छन्। इदुल फित्रका अवसरमा सरकारले यसअघि आइतबार जेठ ११ गते सार्वजनिक बिदा दिने घोषणा गरेपनि सोमबार इद मनाइने भएपछि सोमबार नै सार्वजनिक विदा दिनलाई मुस्लिम आयोगले सरकारलाई सिफारिस गरेको छ।

एक महिनासम्म दिनभर पानीसमेत नखाइ व्रत बसेका मुस्लिम समुदायले अन्तिम दिन इदउल फित्र मनाउने गर्छन्। इद उल फित्रलाई मुस्लिम धर्मावलम्बीले महान पर्वको रुपमा मनाउने गर्छन्। सामान्यअवस्थामा इदको नमाज खुला मैदानमा पढिने र त्यो दिन घर घरमा पुगेर एक अर्कालाई इदको शुभकामना दिने गरिन्छ। तर कोरोनाका कारण यसपटकको इदको नमाज घरमै पढ्नलाई मुस्लिम आयोगले आग्रह गरेको छ र देशभरका मुस्लिम समुदायहरु घरमै इदको नमाज पढेर सरकारको निर्णयलाई साथ दिने भएका छन्।