भ्रष्टाचार गरेको आरोपमा सेनाका जर्नेल राणा र कर्णेल सिल्वाल सैनिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– नेपाली सेनाका सहायकरथी प्रयोगजङ्ग राणालाई सेनामा आर्थीक अनियमितता गरेको भन्दै सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी महासेनानी नवीन सिल्वाललाई पनि सैनिक हिरासतमा राखिएको छ ।शुक्रवार सेनाका महासेनानी भुपालमानसिंह अधिकारीलाई सैनिक सेवावाट बर्खास्त गर्दै जेल चलान गर्ने र अर्का प्रमुख सेनानी देव बहादुर क्षेत्रीको दुई बर्ष बढुवा रोक्का गर्ने र उनले गरेको अनियमतताको रकम समेत असुल उपर गर्ने निर्णय सेनाको अदालतले गरेको थियो ।नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउने कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलताको नीति लिएको दावी गरेको छ ।

उक्त नितिअनुरुप राणा र सिल्वालमाथी छानविन चलिरहेको छ ।राणामाथी दुई बर्षअगाडि वीरेन्द्र शान्ति तालिम केन्द्र, काभ्रेको पांचखालमा हाकिम रहंदा ‘प्राइभेट फण्डको रकम सदुपयोग गर्न नसकेको’, छाउनिस्थित अस्पतालमा बस्दा आर्थिक अनियमितता गरेको र युएनको जिपिओआई कोर्स संचालन गर्न आउने रकममा समेत अनियमितता गरेको अभियोगअन्तर्गत छानविन चलिरहेको छ ।सिल्वालमाथी पनि वीरेन्द्र शान्ति तालिम केन्द्रमा वस्दा आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै छानविन चलिरहेको छ ।सेनाले उपरथी आननन्द अधिकारीको अध्यक्षता कोर्ट अफ इन्क्वायरी गठन गरेको छ ।

उक्त समितिमा सहायकरथी सहदेव खड्का समेत छन् ।पांचखाल अनियमिततामा जोडिएका अन्य १२ जना अफिसरहरुको बयान सम्पन्न भइसकेको छ भने त्यहांका सुवेदार मेजर समेत थुनामा छन् ।सहायकरथी राणा र प्रमुख सेनानी सिल्वाललाई प्रमाण नस्ट गर्न नपाउन् भन्ने ध्येयले विहिवार सुन्धाराछेउ अवस्थित राष्ट्रिय सेवा दलको कल्याणकारी अफिसर्स गेस्ट हाउसमा लाइन अरेस्ट गरेर राखिएको छ ।उनिहरुको बयान लिने क्रम समेत जारी छ ।सहायकरथी राणा सेनामा सधै आकर्षक ठाउंमा जिम्मेवारी पाउंदै आएका थिए ।उनलाई आर्थिक अनियमितता गरेको आरोप यसअघि लागेपनि सेनाका उच्च तहका अधिकारीहरु उनका आफन्त पर्ने भएकाले उनलाई अहिलेसम्म कुनै कार्वाही भएको थिएन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले भने राणामाथी कार्वाही अघि बढाएका हुन् ।राणाले शान्ति सेना, सैनिक प्रहरीको गण कमाण्ड, भक्तपुरस्थित सैनिक बिध्यालय र सैनिक अस्पताल छाउनीमा जिम्मेवारी सम्हालिसकेका छन् । राणाले यसअघि १६ बाहिनीको बाहिनीपति र छाउनीस्थित सैनिक अस्पतालको स्तरउन्नोतीको दुवै जिम्मेवारी समेत सम्हालेका थिए । सहायकरथी राणाले भारतबाट एनडिसी कोर्स गरेका थिए । उनी उपरथी हुने लाईनमा समेत थिए ।