झापा : सरकारले कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न गत वर्षको चैत ११ गते देखी लकडाउन गरेको छ । यस बिचमा सहरी क्षेत्रका सर्वसाधारण घरमै बसेर लकडाउनको पालना गरिरहेका छन् तर ग्रामीण भेगका सर्वसाधारणलाई भने यति बेला लक डाउन भन्दा पनि चैते धान भित्र्याउने चटारो छ ।एक त विगतका दिनहरूमा जस्तो कृषि मजदुर पाइँदैनन् त्यसमाथि यो लकडाउनले मजदुर लगाएर धान भित्र्याउन झन् कठिन भएको अवस्था छ । यस बिचमा ग्रामीण भेगका किसानहरुपनि अहिले विभिन्न कृषियन्त्रका माध्यमबाट आफ्नो बाली भित्र्याइरहेका छन् ।

झापा गौरादह-७ की उर्मिला कार्कीले आफूले करिब १ बिगाहा क्षेत्रफलमा लगाएको चैते धान धान काट्ने र झार्ने उपकरणको माध्यमबाट भित्र्याइन । न त जन नपाइएला भन्ने पिर, न त दिउँसो काटेको धानका पाँजालाई राती पानी आएर भिजाउला कि भन्ने चिन्ता ।त्यसैले आफूले यही धान काट्ने आधुनिक उपकरण प्रयोग गरेको कार्की बताउँछिन् ।उर्मिलाले जस्तै उनकै सधियार नारायण कार्कीले पनि यही मेसिनको माध्यमबाट चैते धान भित्र्याए । लकडाउनले मजदुर अभाव भइरहेका बेला यो मेसिन आफूहरूका लागि वरदान साबित भएको उनकोपनि प्रतिक्रिया छ ।

“सहरी भेगका मानिस घरमै बसेर लकडाउनलाई पालना गर्दै छन्, हामी ग्रामीण भेगका किसानलाई त यस्तो पो चटारो छ ।” कार्कीले हाँस्दै सुनाए ।भारतबाट ल्याइएको यो धान काट्ने र झार्ने आधुनिक उपकरण प्रयोग गरेको प्रति घण्टा साढे ६ हजार रुपैयाँ ज्याला लिने गरिएको छ । एक घण्टामा करिब १२ देखी १५ कट्टा क्षेत्रफलमा लगाइएको धान बाली भित्र्याउन सकिन्छ ।गाउँमा मजदुर अभाव पुरानै समस्या भए पनि ग्रामीण भेगका किसानले अझै पनि अर्म पर्म गरेर आफ्नो बाली भित्र्याउने गरेका थिए ।