यस्तो छ सप्तकोशीमा पानीको बहाब , ५६ मध्ये २३ वटा ढोका खोलिए

इनरुवा । सप्तकोशी नदीको बहाव यतिबेला सामान्य अवस्थामा छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार कोशी नदीको पछिल्लो मापन १ लाख ७० हजार क्युसेक प्रतिसेकेण्ड छ । ब्यारेजका ५६ मध्ये २३ वटा ढोका खोलिएका छन् ।वर्षातको समय भएकाले यतिबेला नदीमा देखिएको सो बहाव सामान्य हो । सुनसरी प्रशासनले समेत कोशीको तत्कालिन बहावलाई पूर्णतया सामान्य मानेको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार कोशीमा यतिबेला पानी सामान्य अवस्थामा बगिरहेको छ ।

दुई दिन यता पानी पर्ने क्रम जारी रहेकाले नदीको स्तर बढ्नु स्वभाविक भएको उनको भनाइ छ ।उनले भने, “कोशीको बहाव ३ लाख नाघेको खण्डमा थप सर्तकता अपनाउनु पर्छ । तत्काल भने त्यस्तो अवस्था छैन् । यद्यपी सावधानीसहितको पूर्व तयारी भने अपनाइएको छ । ” सुनसरीका प्रहरी प्रमुख कमल थापाले समेत कोशीमा पानी बढ्ने क्रम रहेपनि आत्तिनु पर्ने अवस्था नभएको बताए । स्पर निरीक्षण र तटीय क्षेत्रको अवस्था बारे जानकारी लिइरहेको बताएका थापाले कुनैपनि असहज अवस्था नदेखिएको जनाए ।कोशी ब्यारेजमा पानीको बहाव मापन गरिनु पूर्व चरता बाढी मापन केन्द्रमा पहिलो अपडेट निकाल्ने गरिन्छ ।

सुनसरी प्रहरीका अनुसार त्यहाँ समेत पानीको मापन सामान्य अवस्थामै छ । बहावले सर्तकता लेवल छोएको छैन् ।चतरामा गरिने मापनले ५ दशमलव ६ मिटर तहले सर्तकता लेवललाई दर्शाउँछ । जल स्तर बढेर ६ मिटर नाघेको अवस्थालाई खतरा मानिन्छ भने पानीको बहावले ६ दशमलव ८ मिटर बिन्दुलाई छोए जोखिम मान्ने गरिन्छ ।चतराको सो बहाव कोशी ब्यारेजको मापनमा आइपुग्न भने कम्तिमा पनि ३ घण्टा समय लाग्ने गरेको कोशीको जानकार रविन घिमिरे बताउँछन् । कोशी क्षेत्रका बासिन्दा घिमिरे रेडक्रसमा समेत आवद्ध व्यक्ति हुन् ।

निरन्तर बहाव र स्परबारे अवस्था बुझिरहेको बताउने घिमिरे पछिल्लो अवस्थाको कोशीको बहावलाई उचारचढाव पूर्ण रहेपनि अवस्था भने सामान्य बताउँछन् ।कोशी ब्यारेज कन्ट्रोल रुमले समेत नदीमा बहाव वृद्धि हुँदै गएको भएपनि अवस्था भने सामान्य रहेको जनाएको छ । उसले कोशीको बढाव घटबढ हुने क्रममा रहेको जनाएको छ । उसले निरन्तर वर्षा जारी रहेकाले सर्तकता भने बढाउन आवश्यक रहेको जनाएको छ ।सामान्यतयाः पूर्वी पहाडी जिल्लाहरुमा अविरल वर्षा भैरहँदाको अवस्थामा सप्तकोशी नदीको जलस्तरमा उतारचढाव हुने गर्छ ।

ब्यारेज पुल निर्माणताका ९ लाख बहाव क्षमता धान्ने बताइएको भएपनि नदीमा थुप्रिदो बालुवाका कारण ५ लाख क्युसेक बढी बहावले खतरा निमत्याउन सक्ने प्राविधिकहरु बताउँछन् ।यत वर्षको असार २८ गते ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको थियो । पुलमा बालुवा थुप्रिएर बहावमा समस्या देखिएपछि भारतीय प्राविधिकले सबै ढोका खोलेका थिए । ५६ वटा ढोका खोल्नु पूर्व ब्यारेजमा कोशीको वहाव ३ लाख ७१ हजार २ सय १० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो । वर्षातको समयमा पानी पर्ने क्रमसंगै कोशीको वहावमा स्वतः उतारचढाव देखिने गर्छ । नदीको वहानमा आउने सो उतारचढाव स्वभाविक र सामान्य भएपनि सर्तकता बढाउनु आवश्यक छ ।