किस्ता तिर्न नसक्दा ‘फोन अफ’ गर्न बाध्य यातायात व्यवसायी

काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताउनु भएको छ । कोरोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ । यस अवधिमा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउँदा बैङ्कको किस्ता र ब्याज तिर्न नसकेको र यातायात मजदुरहरू भोकै पर्ने अवस्था भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।महासङ्घका महासचिव सरोज सिटौला भन्नुहुन्छ, व्यवसायी मोबाइल अफ गरेर बस्नुपरेको छ, गाडी कुहिन थालिसके, सरकारले कुनै राहतको व्यवस्था गरेको छैन ।

बैङ्कको किस्ता तिर्न सक्ने अवस्था छैन, बैङ्कको किस्ता पछि सारिदेउ भन्दा पनि भएको छैन, तिर्दैन त भनेका छैनौँ नि पछि तिर्छौं भन्दा पनि भएको छैन । उहाँका अनुसार बन्दाबन्दीले सबैभन्दा प्रभावित भएको सार्वजनिक यातायात क्षेत्र हो । तीन लाख ५० हजार यात्रुवाहक सवारी थन्किएका छन् । कहिलेदेखि गाडी सञ्चालन हुन्छ भन्ने कुरो सरकारले टुङ्गो नलगाउँदा व्यवसायीमा झन् निराश बढेको छ ।बन्दाबन्दी विस्तारै खुकुलो बनाउँदै जाने सरकारको नीति अनुसार सार्वजनिक सवारी साधन पनि विस्तारै सुचारु गर्नुपर्छ भनेर यातायात व्यवस्था विभागले नयाँ निर्देशिका जेठ २५ गते तयार गरेको थियो ।

नयाँ निर्देशिकामा कोरोनाबाट सुरक्षित रहेर सवारी सञ्चालन गर्नुपर्ने प्रावधान छन् । सुरक्षित रहन प्राविधिक मापदण्ड तोकिएको छ । सार्वजनिक सवारी सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, सबै सिटमा यात्रु राख्न नपाइने, मास्क, पञ्जा तथा सेनिटाइजरको प्रयोग अनिवार्य गरिने छ । साथै यात्रुको ज्वरो नाप्नेसम्मका प्रावधान छन् ।तर व्यवसायीले आधा यात्रु मात्र लिएर हिँड्दा दैनिक खर्च पनि नउठ्ने भएकाले सरकारले केही सहुलियत दिनुपर्ने माग गरेका छन् । सोही माग अनुसार विभाग र व्यवसायीबीच पटकपटक छलफल भए पनि सहमति हुनसकेको छैन । याे खबर गाेरखापत्र दैनिकमा छ ।