विद्युत सेवानै नभएको ठाउँमा विद्युत मर्मतका लागि बजेट निकाशा !

हुम्ला । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट विद्युत सेवा नै नभएको ठाउँमा विद्युत मर्मतका लागि बजेटको निकासा गरेको छ ।खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ३ राया गाउँको राया खोला लघु जलविद्युत आयोजना मर्मत शीर्षकमा असार ११ गते ३५ लाख रुपैयाँ बजेट निकाशा गरेको हो ।साबिकको राया गाबिस, स्नोल्याण्ड एकीकृत बिकास केन्द्र (एसआईडीसी) र बैकल्पिक उर्जाको आर्थिक सहयोगमा निर्माणाधीन राया खोला जल विद्युत आयोजनाका लागि तार, पेनेस्टिक पाइप, विद्युत उत्पादन गर्ने जेनेरेटर र पोल खरिद गरी आयोजना स्थलमा पु¥याइ सकिएको छ ।

त्यस्तै, पावर हाउस र नहर निर्माण गर्ने काम सम्पन्न नभएकाले यस आर्थिक वर्षभित्र बिद्युत उत्पादन गर्ने गरी प्रदेश पूर्वाधार बिशेष कार्यक्रमको रु ५० लाखबाट अहिले काम भइरहेको छ ।तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट बिद्युत नै उत्पादन भई नसकेको ठाउँमा बिद्युत मर्मतका लागि बजेटको निकासा भएपछि एउटै कामको लागि दोहोरो बजेट आएको हुनाले उक्त बजेट फिर्ता पठाउने खार्पुनाथ गाउपालिका–३ रायाका वडा अध्यक्ष गुलाम रावलले बताए ।राया खोला मात्र होइन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट खार्पुनाथका अन्य २ वटा लघुजल विद्युत आयोजनाको मर्मत गर्न अख्तियारी आएको छ ।

उक्त बजेट विद्युत बाल्नका लागि नभएर आफ्नो कार्यकर्ता पोस्ने प्रयोजनका लागि निकाशा गरिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले बताए ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष सकिन ८ दिन मात्र बाँकी रहँदा रोजगार, आयआर्जन र कर्णाली उज्यालो कार्यक्रमका नाममा करोडौं रुपैयाँ पालिकाहरुमा पठाएका छन् ।मुख्यमन्त्री शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रमतर्फ २९ करोड ९९ लाख ५९ हजार रुपैयाँ, मुख्यमन्त्री दलित महिला आय–आर्जन कार्यक्रमतर्फ पाँच करोड २५ लाख ४३ हजार ७२८ तथा कर्णाली उज्यालो कार्यक्रमतर्फ ९५ लाख रुपैयाँ गरेर कुल ३६ करोड २१ लाख दुई हजार ७२० रुपैयाँ स्थानीय तहमा पठाएका थिए ।