शितल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, १६ असार । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको मंगलबारको बैठक सुरु हुनुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभएको हो ।राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको छ । पार्टीभित्रको अन्तरद्वन्द्व उत्कर्समा पुगेको तथा पछिल्लो समय आफैले दिएको अभिव्यक्तिले विवादमा तानिएका बेला प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी भएपछि भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिनुभएको थियो ।अहिले प्रधानमन्त्री ओली बालुवाटार फर्किसक्नु भएको छ ।अहिले बालुवाटारमा नेकपाको स्थायी कमिटीको बैठक जारी छ । शुक्रबार बसेकाे बैठकमा ओली उपस्थित हुनुभएकाे थिएन भने शनिबारको बैठकमा केही मिनेटका लागि मात्रै उपस्थित हुनुभएकाे थियाे ।