भरतपुरका एउटै व्यक्तिले पाए ३४ लाख रकम

चितवन, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमाका बीमित व्यक्तिलाई ३४ लाख बराबरको रकम उपलब्ध गराएको छ । भरतपुर महानगरपालिका १२ का स्वर्गीय श्रीराम थापा मगरको परिवारलाई विमा वापतको रकम ३४ लाख १२ हजार ५ सय ४८ रुपैंया उपलब्ध गराइएको हो ।आज (मंगलबार) आयोजित कार्यक्रम मार्फत स्वर्गीय थापाकी श्रीमती श्याम कुमारी मगरलाई वडा सदस्य विमला भट्टराई, सिटिजन्स लाइफ इन्स्योरेन्सका संस्थापक शेयरधनी प्रकाश आचार्य र वोटलर्स नेपाल तराईका एचआर म्यानेजर शैलेन्द्र चतुरवेदीले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभयो ।

स्वर्गीय थापा भरतपुरको वोटलर्स नेपाल तराईमा २५ बर्षसम्म कार्यरत हुनुहुन्थ्यो । उहाँको गत फागुनमा मृत्यु भएको थियो ।सिटिजन्सले सामुहिक म्यादी बीमा योजना अन्तर्गत सो रकम उपलब्ध गराएको शाखा कार्यालय नारायणगढका प्रमुख गोकर्ण कार्कीले जानकारी दिनुभयो । वोटलर्स नेपाल तराईले कर्मचारीका लागि ३६ लाखको बराबरको विमा गरिदिएको हो । विमाङक रकमको ५ प्रतिशत कटाएर रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ । सो विमाको प्रिमियम बार्षिक १० हजार रहेको प्रमुख कार्कीले बताउनुभयो ।

चेक हस्तान्तरणमा कार्यक्रममा बोल्दै वोटलर्स नेपाल तराईका एचआर म्यानेजर शैलेन्द्र चतुरवेदीले कर्मचारीको भविष्य हेरेर कम्पनीले विमा गरिदिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घटना दुर्घटना नहोस् तर भइहाले पनि विमा ग¥यो भने परिवारका सदस्यलाई राहात हुन्छ ।’ विमाकै कारण मृतकसंग जोडिएकाहरुको जिवनलाई थोरै भएपनि सहज बनाउने उनको बुझाइ छ ।