सप्तकोसीमा २ हजार ८ सय ५७ मिटर लामो पुल बन्‍ने

इटहरी : पकली–कञ्चनपुर सडकअन्तर्गत सुनसरीको बराहक्षेत्र–९ प्रकाशपुरस्थित राजाबासमा २ हजार ८ सय ५७ मिटर लामो पुल बन्ने भएको छ। पुलको चौडाइ २०.९२३ मिटर हुनेछ। यसलाई सप्तकोसी ब्यारेजको वैकल्पिक मार्गका रूपमा समेत हेरिएको छ। सप्तकोसीमा बनेको ब्यारेजको आयु ६० वर्ष पुगिसकेको छ। ब्यारेज जीर्ण बनिरहँदा वैकल्पिक मार्गका रूपमा पकली–कञ्चनपुर सडक बन्न लागेको हो। सोअन्तर्गत बनेको नयाँ पुलले अहिलेको कोसी ब्यारेजजस्तै प्रदेश १ को सुनसरी र प्रदेश २ को सप्तरीलाई जोड्नेछ।

सप्तकोसीबाहेक त्रियुगा नदीमा ३ सय १५ मिटर लामो पुल बन्नेछ भने थप ३२ वटा पुल बन्न लागेका छन्। सडक विभागले पुलदेखि अन्य निर्माणको विषयमा वातावरण प्रभाव मूल्यांकनका लागि सूचना जारी गरेको छ। पकली–कन्चनपुर सडक कुल ४४ हजार दुई सय १४ किलोमिटर लामो हुनेछ। सोअन्तर्गत पकलीदेखि भासीसम्म २ लेन चौडा राजमार्गलाई ४ लेनमा स्तरोन्नति गरिनेछ। भासीदेखि बलार्धसम्म ४ लेनको नयाँ सडक निर्माण गरिनेछ, जुन ३३.१ किमि लामो हुनेछ। यस्तै बलार्धदेखि कन्चनपुरसम्मको ९ हजार ६ सय १४ किमि लामो सडकलाई चार लेनमा स्तरोन्नति गरिनेछ।

सडकले सुनसरीको इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, बराहक्षेत्र नगरपालिका छुनेछ। यस्तै उदयपुरको बेलका नगरपालिका, सप्तरीको सप्तकोशी नगरपालिका, मलेठ नगरपालिका र कन्चनरुप नगरपालिकासमेतले लाभ पाउनेछन्। वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रोजेक्ट प्रिपरेटोरी कन्सल्टेन्ट सासेक रोड कनेक्टीभीटी प्रोजेक्टले परामर्शदाताको रुपमा काम गरिरहेको छ। सडक निर्माणका क्रममा ६ वटा घर र व्यक्तिका जग्गासमेत पर्ने भएकोले मुआब्जा दिएर अधिग्रहण गर्ने कुरा भइरहेको बराहक्षेत्र नगरपालिका ९ का वडाध्यक्ष दीपककुमार लिम्बूले बताए।

सडक तथा पुलको वातावरणीय प्रभाव मूल्यांकनबारे सूचना प्रकाशन भएपछि स्थानीय खुसी भएका छन्। ‘राष्ट्रिय महत्वको सडक र पुल हाम्रो वडामा बन्दै छ, यसले वडा र समग्र नगरपालिकाकै विकास गर्नेमा हामी विश्वस्त छौं,’ वडाध्यक्ष लिम्बूले भने। बराहक्षेत्रकी उपमेयर कमला मगरले पुल बन्ने पक्कापक्की भएको बताइन्। अन्नपुर्ण पोस्ट