कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना पुष्टि

काठमाडौँ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत आइतबार उपचारका उदयपुरबाट ल्याइएका शिशुमा शुक्रबार कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि पछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ ।अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि गर्दै, शिशुको अवस्था भने सामान्य रहेको बताए ।‘रगतमा कमि, ज्वरो आएको लगायतका समस्या लिएर गत आइतवार बेलुका परिवारले उपचारका लागि कान्ति ल्याएको थियो ।

हामीले सस्पेक्टेड केश भनेर आइसोलेसनमा राखेका थियौँ । सोमबार कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरयौँ । त्यसको रिपोर्ट पोजेटिभ आयो । हामीले यसअघि पनि थुप्रैको परीक्षणका लागि पठाएका थियौँ । तर पोजेटिभ आएको यो पहिलो हो,’ डा पौडेलले भने ।अस्पतालले कोरोनाका लागि छुट्टै आइसोलेसन वार्ड, टिम बनाएको छ । त्यसैले संक्रमण देखिएपनि अस्पताल सुरक्षित ढंगले सञ्चालन भइरहेको उनले प्रष्ट पारे ।आइसोलेसन वार्डमा शिशुको उपचारमा सम्लग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षण गर्ने तयारी भएको बताए ।