ओलीलाई हटाए मुलुकमा अस्थिरता पक्का : टोपबहादुर रायमाझी

काठमाडौं, २१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीकार्य नहुने स्पष्ट पार्नु भएको छ ।पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको उहाँको भनाइ छ ।आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै नेता रायमाझीले नेकपाभित्रको विवाद कसरी समाधान हुन्छ ? भनेर यतिवेला सारा नेपाली जनता, नेकपाका नेता÷कार्यकर्ताहरुले चासो र चिन्ताका साथ हेरिरहेको पनि बताउनु भयो ।

उहाँले पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृृद्धिको एजेण्डाभन्दापनि शक्ति बाँडफाँडमा बढि केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो,‘अहिले नेकपाभित्रको विवाद खासगरी पावर सेयरिङमा सम्बन्धित छ । यही विषयले उचाई लिईरहेको छ । अहिलेको बहस एजेण्डामा भन्दापनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहेको छ ।’रायमाझीले लामो समयपछि नेपाली जनताले दुई तिहाई बहुमत दिएर मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्न र विकास र समृद्धिको एजेण्डालाई अघि बढाउन नेकपालाई सरकारमा पठाएको सुनाउँदै सोहीअनुसार नेकपा र यसको नेतृत्वमा रहेको सरकार खरो रूपमा उत्रिनुपर्नेमा जोड दिनुभयो ।

‘दुई तिहाईको सरकार बनेपछि जनतामा यो सरकारप्रति अपेक्षा बढ्नु स्वभाविक हो । हामीले जनताका चाहनाबमोजिम राम्रो काम गर्न सक्ने अवसर थियो । तर, हामीले जनताका अपेक्षा पूरा गर्नेगरि काम गरेनौं । विगतका सरकारभन्दा केही राम्रा काम त पक्कैपनि भएका छन् । तर, दुई तिहाईको सरकार हो यो, त्यो स्तरमा अझै काम भैरहेका छनैन्’, रायमाझीको गुनासो छ । अहिले पार्टी एकताका अधुरो कामपनि ओझेलमा परेको उहाँको भनाइ छ ।मुलुक यतिवेला कोरोनाको महामारीविरुद्ध लडिरहेको, सीमा विवादमा सिंगो राष्ट्र एकजुट भएर लागिरहेको सुनाउँदै उहाँले यस्तो बेलामा बहस र छलफल अरु विषयमा केन्द्रित गर्नु दुःखद् भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारलाई परीणाममुखी बनाउनको लागि छलफल आवश्यक छ, तर सरकार परिवर्तन गर्दैमा समस्याको समाधान त हुने होईन् । यो बेलामा सरकार परिवर्तन गर्नु उपयुक्त होईन् ।’रायमाझीले अहिले सरकार परिवर्तन गर्नु वा प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउन खोज्नु पार्टी एकताको म्याण्डेटविपरित हुनेपनि टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,‘एकता महाधिवेशन नभएसम्म सहमतिका साथ अघि बढ्ने समझदारी छ ।अहिले बहुमत वा अल्पमतमा जाने होईन् । बहुमतको आधारमा अध्यक्ष वा प्रधानमन्त्री परिवर्तन गर्दा त्यो पार्टी एकताको म्याण्डेटविपरित हुन्छ ।’

अहिले प्रधानमन्त्री परिवर्तन गरिए देश अस्थिरतातर्फ जानेपनि खतरा पनि उहाँले औंल्याउनुभयो । तर, आवश्यक पर्यो भने सहमतिका आधारमा पदको बाँडफाँड भने गर्न सकिने विषय भएको उहाँको भनाई छ ।उहाँले नेताहरुले एकले अर्कोलाई सम्मान गर्दै अहिले देखिएका विवाद वा समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो । नेकपा विभाजन भए गणतन्त्र नै खतरामा पर्ने उहाँको निष्कर्ष छ । उहाँले नेताहरुलाई सहमतिको लागि अन्तिमसम्म प्रयत्न गर्नपनि आग्रह गर्नुभयो ।आफूहरु दोस्रो पुस्ताका नेताहरुपनि पार्टी एकतालाई जोगाउनको लागि नेतृत्वलाई दबाब सिर्जना गर्ने काममा लागिरहेको रायमाझीको भनाइ छ ।

पहिलो पुस्ताका नेताहरुले सहमति कायम गर्नुको विकल्प नै नभएको उहाँको भनाइ छ । र, दोस्रो पुस्ताका नेताहरुले पहिलो पींढिका नेताहरुलाई उक्साउने काम गर्न नहुने उहाँको सुझाव छ ।उहाँले भन्नुभयो,‘पार्टी नेतृत्वले विवाद हल गर्न सक्नुभएन भने उहाँहरुको क्षमतामाथि पनि प्रश्न उठ्छ । यदि पार्टीलाई विभाजनतर्फ लैजानु भयो भने उहाँहरुको क्षमतामा त प्रश्न उठ्छ नै । उहाँहरुलाई विवाद मिलाउने अधिकार छ । तर, पार्टी विभाजन गर्ने राईट्स छैन् ।’पार्टी विभाजन गर्नेहरुलाई नेता मान्न पनि जरुरी नरहेको उहाँको तर्क छ ।