किस्ता तिर्न नसकेको भन्दै बैंकलाई गाडीको चाबी बुझाए

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत चल्ने अधिकांश सार्वजनिक गाडीका धनीले लकडाउनका कारण किस्ता तिर्न नसकेको भन्दै बैंकलाई गाडीको चाबी बुझाएका छन् ।उनीहरुले सरकारले लकडाउनको नाममा सार्वजनिक सवारी साधन चल्न नदिएको र बैंकले पनि पटक–पटक किस्ता तिर्न ताकेता गरेपछि आफूहरुले गाडीको चाबी नै बैंकलाई बुझाउन बाध्य भएको बताएका छन ।सोमबार बैंकिङ कारोबारबाट निकालिएका पृथ्वी राजमार्गमा चल्ने १ सय ५ वटा सवारी साधनका धनीले लकडाउनको समयमा किस्ता तिर्न नसक्ने बताउँदै बैंकलाई गाडीको चाबी नै बुझाएका हुन् ।

विगत ३ महिनादेखि जारी भएको लकडाउनका कारण सार्वजनिक सवारी साधन चल्न नपाएको र आम्दानी नभएका कारण बैंकको ब्याज तथा किस्ता तिर्न नसकेको उनीहरुको दुखेसो छ ।सरकारले समेत सार्वजनिक सवारी धनी तथा चालकलाई बेवास्ता गरेको र राहतका प्याकेज नल्याएको उनीहरुको आरोप छ । यसैबीच बैंकले पनि दिनहुँ जसो ब्याज तथा किस्ताको लागि ताकेता गरेको उनीहरुको गुनासो छ ।गरिमा बिकास बैंक, मुक्तिनाथ बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंकलाई सोमबार गाडी धनीहरुले बैंकमै गएर चाबी बुझाएका हुन ।

उनीहरुले समय थप गरिदिनुपर्ने तथा किस्तामा सहजिकरण गरिदिनुपर्ने माग राखेका थिए ।यातायात ब्यवसायीहरुलाई सरकारले बेवास्ता गरेका कारण ब्यवसायीहरु मारमा परेका पृथ्वी राजमार्ग बस ब्यवसायी कमिटीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताउनु भयो ।न्यूनतम ६ महिना बैंकले सहज भूमिका निर्वाह गरिदिन उहाँको आग्रह छ ।चैतको किस्ता असोजमा तिर्ने ब्यवस्था गरिदिन पनि उहाँले बैंक तथा सरकारलाई माग गर्नु भएको छ । तर, बैंकले भने यस बिषयमा किस्ता तथा ब्याज समयमा नै बुझाउनुपर्ने बताएका छन् ।

त्यसोत, हाल लकडाउनको समयमा त्यति ताकेता नगरेको पनि बैंकको दाबी छ ।किस्ता तिर्न ढिलाई गर्न नहुने र समयमा नै ब्याज बुझाउनुपर्ने मुक्तिनाथ बिकास बैंक, पोखरा शाखाका शाखा म्यानेजर बाबुराम ढकालले बताउनु भयो । त्यस्तै, उहाँले राष्ट्र बैंकको निर्देशन तथा नियम अनुसार आफूहरु चल्नुपर्ने बताउनुभयो ।