जनताको गुनासो, समस्या, पीर-मर्काको सम्बोधनका लागि ‘सीधाकुरा जनतासंग’को टोली घरदैलोमा

काठमाडौं । जनताको गुनासो, समस्या, पीर-मर्कालाई सुनेर ती समस्याहरूको सम्बोधनका लागि लड्दै र आवाज उठाउँदै आएको न्यूज २४ टेलिभिजन अब जनताको गुनासो सुन्न उनीहरुको घर-दैलोमा पुग्ने भएको छ ।विगत साढे तीन वर्षदेखि आफ्ना गुनासोहरू लिएर जनताले न्यूज २४ को दैलो ढकढक्याए । तर अब न्यूज २४ स्वयं उनीहरुको गुनासो सुन्न जनताको घर-दैलोमा पुग्ने भएको हो । यस्का लागि न्यूज २४ को लोकिप्रय कार्यक्रम ‘सीधाकुरा जनतासंग’को टोली चाँडै मुलुकका सातवटै प्रदेशमा पुग्नेछ ।

कोरोना भाइरस (कोभिड-१९) को महामारीको कारण आम जनता आफ्नो गुनासो गुम्साएर आआफ्नै घरमा बस्न विवश छन् । तर यो अवस्थालाई चिर्दै न्यूज २४ टोली जनताको घर-दैलोमा पुग्ने भएको हो ।यस क्रममा जनताको गुनासो सुनेर उनीहरूलाई साथ दिने संकल्पका साथ न्यूज २४ टोलीले यही असार २८ गतेदेखि प्रदेश १ बाट आफ्नो घरदैलाे अभियान यात्रा शुभारम्भ गर्दैछ ।