कोशीको बहाव क्रमशः घट्न थाल्यो

इनरुवा, २७ असार । बिहानको तुलनामा सप्तकोशी नदीको बहाव क्रमशः घट्न थालेको छ । २ लाख ७५ हजार क्यूसेक प्रतिसेकेण्ड पुगेको बहाव घटेर २ लाख ३४ हजारमा झरेको छ । पछिल्लो अवस्थामा कोशी ब्यारेजका ३३ ढोका खोलिएका छन् ।चतरा मापन केन्द्रमा समेत पानीको तह घटेको छ । चतरामा पानीको तह घट्न थालेसँगै कोशी ब्यारेजमा हुने मापनमा समेत कमी आउन थालेको हो ।सुनसरी प्रशासनले सप्तकोशी नदीका सबै स्परहरु सुरक्षित रहेको र ब्यारेज पुलबाट हुने पानीको बहावमा कुनै पनि असहजता नरहेको जनाएको छ ।

सुनसरीमा अहिलेसम्म बाढी र पहिरोका कारण कोही विस्थापित हुनु नपरेको भएपनि खोलाले बगाएर भने धरानमा एकजना वृद्ध वेपत्ता भएका छन् ।सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार सर्दु खोलाले बगाएर धरान १३ राई टोलमा बस्दै आएका अन्दाजी ६५ वर्षका भारतीय भूपु सैनिक रामबहादुर बस्नेत बेपत्ता भएका हुन् ।खोला पारी रहेको खेतमा धान रोप्न जाने क्रममा बस्नेतलाई सर्दु खोलाले बगाएको हो । उनको खोजी कार्य जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।