अभिनेता अमिताभ र उनका छोरा अभिशेकमा कोरोना संक्रमण पुष्टि

मुम्बइ : हिन्दी चलचित्रका अभिनेता अमिताभ र उनका छोरा अभिशेक बच्चनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शनिबार अभिशेकले ट्वीट गर्दै आफू र आफ्ना बुवालाई कोभिड–१९ संक्रमण भएको जानकारी गराएका हुन् ।‘आज सबेरै दुबै बुवा र मलाई कोभिड–१९ परीक्षण पोजिटिभ देखिएको छ’, उनले भनेका छन्, ‘यो अवस्थामा धैर्य गर्न र चिन्ता नलिन सबैमा अनुरोध गर्दछु ।’संक्रमण पुष्टि भएसँगै दुबैलाई अस्पताल भर्ना गरिएको छ । यस्तै अहिले परिवारका सबै सदस्यको कोरोना परीक्षण भइरहेको छ ।

यसअघि अमिताभले आफूलाई कोरोना संक्रमण भएको ट्वीट गरेका थिए । उनले परिवारका अन्य सदस्यको नतिजा आउने क्रम रहेको जानकारी गराएका थिए ।बलिउड अभिनेता रीतेश देशमुखले अभिषेक बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘चाँडै निको हुनुहोस्, म तपाईंको परिवारका लागि प्रार्थना गर्छु।अभिनेता मनोज बाजपेयी, परिणीति चोपडा, अमीशा पटेल, चिरन्जीवीलगायत कैयौं हस्तीहरुले बच्चन परिवारको स्वास्थ्य लाभको कामना गरेका छन्। अमीशा पटेलले यो नराम्रो खबर भएको भन्दै अमिताभ चाँडै ठीक हुने कामनासहित इश्वरसँग प्रार्थना गरेको उल्लेख गरेकी छन्।