‘इंगेजमेन्ट’ भयाे, तर बिहेको सपना अधुरै रह्यो

२ श्रावण २०७७, शुक्रबारजनकपुरधाम, ‘हामीलाई छाडेर कहाँ गयौं मेराे बाबु? मेरो प्यारो राजा बेटा! इन्जिनियर बनेर बिहे गर्छु भन्थ्यौं। सबलाई सुख दिन्छु भन्थ्यौं। तर बीचमै छाडेर गयौं। अब हामीले कसरी बाँच्ने दुलरुवा छोरा!’ छोरा सतीशको अन्त्येष्टि गरेर फर्केकी आमा मञ्जु बिहीबार दिउँसो जनकपुरस्थित घरको कोठामा रुदैँ कराउँदै बिलौना गर्दै थिइन्। तीनदिनको रुवाई र विलापले उनको आँसु सुकिसकेको छ। गला अवरुद्ध हुन थालेको छ। उनी रुन पनि नसक्ने अवस्थामा पुगेकी छन्।

जनकपुरधाम उपमहानगरपालिका ४ कदमचोकस्थित सतीशको घरमा शोकाकुल परिवारलाई समवेदना प्रकट गर्न आएका आफन्त तथा छिमेकी महिलाहरु मञ्जुलाई सम्झाइ बुझाई शान्त गर्ने जमर्को गर्दैंछन्। छोराको शोकमा डुबेका बुबा अमरकिशोर गोइत पल्लो कोठाको ओछ्यानमा रुँदारुँदा थाकेपछि निदाँउने प्रयास गरिरहेका थिए। त्यहि कोठाकै अर्को ओछ्यानमा नाति सतीशको किरिया बसेका ७४ वर्षे हजुरबुबा कृष्णवीर पुरपुरोमा हात राखेर शोकमा डुबेका छन्। घरका सदस्य, आफन्तजन, छरछिमेक लगायत सबै शोकामा डुब्नुको एउटै कारण हो-सानैदेखि प्यारले स्यहार्दै दुःख सुख गरी पढाएर इन्जिनियर बनाएका छोरा सतीशलाई २५ वर्षकै उमेरमा गुमाउनु।

मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गएको मंगलबार दिउँसो सुरुङको १७ नम्बर गेट फुट्दा २५ वर्षीय सतीश गोइतसहित दुईजना बेपत्ता भएका थिए । उनीसँगै गाडी चालक राधाकृष्ण थापा समेत बेपत्ता भएका थिए। खोजविनको क्रममा सतीशको शव बुधबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै फेला परेको थियो। थापा अझै भेटिएका छैनन्। शतीशको शवलाई जनकपुर ल्याएर बिहीबार जनकपुरधामस्थित स्वर्गद्वारी स्मशानघाटमा अन्त्येष्टि गरिएको छ। बुबा अमरकिशोरका अनुसार सतीश झण्डै एकवर्षदेखि मेलम्ची खानेपानी आयोजनामा कार्यरत्त थिए ।

सतीश बेपत्ता भएको खबर मंगलबार दिउँसो सबभन्दा पहिले उनका मामा बिबेक यादवलाई गएको थियो। मामा बिबेकले नै सतीशको घरपरिवारमा उनी मेलम्ची खानेपानीमा बेपत्ता भएको खबर गरेका थिए। खबर पाएदेखि नै परिवारका सबै सदस्इ निकै चिन्तित र हतास छन्। प्रहरी प्रशासनले वेपत्ता नातिको खोजीमा ढिलाई गरेको हजुरबुबा कृष्णवीरको गुनासो छ। ‘तुरन्तै खोजविन र उद्धार भएको भए मेरो नाति आज जीवन हुन्थ्यो। सरकारले खासै चाँसो देखाएन,’ हजुरबुबा कृष्णवीरले दुखेसो पोख्दै भने, ‘आज नातिको अगाडी हजुरबुबा मर्ने उमेरमा नातीको किरिया बस्नु पर्यो।’

प्रहरीले सतीशको खोजविनमा ढिलाइ गरेको कुरा थाहा हुने बितिकै हजुरबुबा कृष्णवीरले नातिको खोजविन, उद्धारमा पहल सहयोग गरिदिन प्रदेश २ का आन्तरिक मामलिा तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र जनता समाजवादी पार्टीका धनुषा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियालाई गुहारेका थिए। पछि सतीशको शव नै फेला परेपछि उनको परिवार र आफन्त शोकमा डुबेका छन्। खोजविन तथा उद्धारमा नेपाल प्रहरीको ढिलाई र वेवास्ताको कारण भान्जा सतीश गुमाउनु परेको मामा बिबेकको समेत दुखेसो छ।

‘घटनाको ५ मिनेटपछि नै मलाई खबर आयो । सतीश बेपत्ता भयो भनेर । तर प्रहरीहरुले समयमा खोजविन गरेनन् । जसको परिणाम आज भान्जा गुमानउनु पर्यो,’ मामा बिबेकले भने। सतीशले सोमबार बिहान घरपरिवारका सदस्यहरुसंग एकघण्टा लामो कुराकानी गरेका थिए। ‘समयमा खाना खानुहोला, औषधि खानु होला, आराम गर्नुहोला। सबैजना ठीकसँग बस्नु होला। म यहाँ ठीकठाक छु । तपाइँहरुलाई केहि समस्या भए मलाई तुरन्त फोन गर्नुहोला।’ नाति शतीसले अन्तिम कुराकानीमा भनेका कुराहरु सम्झिँदै हजुरवा कृष्णवीर स्तब्द हुन्छन्।

उनी भन्छन्, ‘अब त संसार उजाडिए जस्तै भएको छ । यसको दोषी सरकार हो।’ त्यसअघि गएको शुक्रबार राति उनले भिडियोकलमा परिवारका सबैसँग कुराकानी गरेका थिए। गएको फागुनमा घर आएका उनले खुसीसाथ होली मनाएका थिए। चैत २ गते काममा फर्किएका उनी त्यसयता घर फर्केका थिएनन्। होली पर्वको प्रत्यक्ष भेट नै घरका अधिकांश सदस्य र आफन्तजनको लागि सतीशसँगको अन्तिम भेट बन्यो। हजुरबुबा कृष्णवीरका अनुसार सतीश बाल्यकालदेखि नै पढाईमा अब्बल थिए। एसएलसीसम्म उनले जनकपुरको मोनास्टिक स्कुलमा पढेका थिए।

उनले एसएलसीमा डिक्सटिशन नम्बर ल्याए। जनकपुरकै मीट क्याम्पसमा साइन्स विषय लिएर उनले प्लस टु गरे। सतीशले प्लस टुमा पनि उत्कृट अंक ल्याएको हजुरबुबा कृष्णवीरको भनाइ छ। प्लसटु पास गरी सतीश इन्जिनियरिङ पढ्न भारत गए। बेङलौरस्थित इन्गोलोवर इन्जिनियरिंङ कलेज, चण्डीगढबाट सिभिल इन्जिनियरिंङ उत्तिर्ण गरे। इन्जिनियरिंङको पढाई सकेर करिब दुईवर्ष अघि मात्र उनी घर फर्केका थिए। घर आएपछि उनी अब कमाउनु पर्छ भन्दै आफ्ना शैक्षिक प्रमाणपत्रहरु बोकेर बरालिएका थिए।

काठमाडौंमा निजी क्षेत्रका कम्पनीहरुमा झण्डै ८ महिना उसले काम गर्यो। पछि मेलम्ची खानेपानी आयोजनामा कर्मचारीको लागि भ्याकेन्सी निस्किँदा सतीशले पनि आवेदन दिए। परीक्षामा उनी राम्रो अंक ल्याएर पास भएका थिए। हजुरबुबा कृष्णवीर भन्छन्, ‘मेलम्ची आयोजनामा काम गर्न थालेपछि उनको कामको उनका साथीहरु प्रशंसा गर्थे। गर्वले छाती उचो हुन्थ्यो । तर आज त्यही नाति गुमाउँदाको पीडा कसरी पोखुँ।’ सतीश पढाई लेखाईमा सानैदेखि जागरिलो र उत्कृष्ट हुनुको कारण थियो हजुरबुबा र बुबा अमरकिशोरको साथ।

हजुरबुबा कृष्णवीर शिक्षक पेशाबाट अवकाश प्राप्त भएको झण्डै १५ वर्ष भएको छ भने बुबा अमरकिशोर अझै पनि जनकपुरधाम उपमहानगरपालिका ९ स्थित सरस्वती उच्च माविमा शिक्षण पेशामै कार्यरत्त छन्। बुबा र हजुरबुबा दुबै शिक्षक भएका कारण सतीशलाई पढाइमा ठूलो साथ सहयोग मिलेको थियो। हजुरबुबा कृष्णवीरले भने ऋण लिएर नातीलाई ईन्जिनियर पढाएका थिए। ‘नाति भन्थ्यो बाबा तपाई ऋणको चिन्ता नलिनुस् । म चुक्ता गर्छु। तपाईहरुको सबै मनोकान्छ पुरा गर्छु,’ कृष्णवीरले नातिले विगतमा भनेका कुरा सम्झिँदै भक्कान्छिन्।

सतीशको बिहेसमेत निश्चित भएको थियो। सप्तरीकी एक सुपुरभाइजर युवतीसँग उनको वैशाखमै टिकाटालो भएको थियो। ‘अगामी मंसिरमा विवाह गर्ने टुंगो लागेको थियो,’ सबै भताभंग भयो,’ हजुरबुवा कृष्णवीरले भने। ‘काठमाडौंमै सतीशको टीकाटालो सप्तरीकी केटीसँग हुँदा म गएको थिँए । अगामी मंसिरमा विवाहको कुरा पक्का भएको थियो। तर अब छोरा सतीशको विवाहको कुरा सदाका लागि अधुरै रहने भयो,’ भक्कानिदै बुबा आमरकिशोर बोले। हजुरबुबा कृष्णवीरका अनुसार सतीश नयाँ र राम्रा लुगा लगाउन मन गर्थे।

‘सतीश राम्रो राम्रो लुगा लगाउन निकै सौखिन थियो। सानैदेखि नातीको इच्छा मैले पूरा गर्दै आएको थिएँ,’ उनले भने, ‘अब तपाईहरु पनि राम्रो लुगा लगाउनुस्। म किनेर ल्यादिन्छु, भन्थ्यो। कहिल्यै नफर्किने गरी गयो।’ घरको ठूलो जिम्मेबारी बोक्नै लागेका सतीशको मृत्युले आफन्तलाई ठूलो पीडा भएको छ। चारछोरा छोरी मध्येका काइला थिए सतीश। दुई दाजुभाइमध्ये उनी कान्छो। दाइ आतिश प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीका सवारीचालक छन्। दुई दिदी बहिनीको विवाह भइसकेको छ। नेपाल खबर