डोजरले रोजगारी खोसेपछि उजाडिए ७ घर

राेल्पा, ५ साउन । चरम बेरोजगारीका कारण रोल्पाका ७ घर क्षणभरमै रित्तिएका छन् । शनिबार राती प्युठानमा भएको भयानक दुर्घटनाले रोल्पा होलेरी नजिकै रुमाले गाउँका ६ घर र त्रिबेणीको एक घर उजाडिएको हो । उर्जाशिल उमेरका ७ युवक रोजगारी र त्यसपछिको प्रतिफलको आशासहित मजदुरीमा हिडेका थिए । खाना, नाना र छानाको जोहो गर्न मजदुरीका लागि हिडेका उनिहरुले सबैलाई रुवाएर संसार छाडे ।घरछेउमा आएको भनिएको स्थानीय सरकारले रोजगारी सृजना नगर्दा बाहिरी जिल्लामा मजदुरी गर्न हिडेका एकै टोलका ६ सहित ७ जना रोल्पालीले ज्यान गुमाएका हुन् ।

वर्षेनी करोडौ बिकास बजेट सक्याउने स्थानीय तहहरुले डोजरको प्रयोग गर्न थालेपछि उस्तै प्रकृतीको काम गर्न रोल्पाली युवा बाहिरी जिल्ला, भारत वा बैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने गर्दछन् । डोजरले रोजगारी खोसेपछि विदेशिने वा जिल्ला बाहिर मजदुरी गर्न जाने रोल्पालीले हरेक वर्ष बिभिन्न दुर्घटनामा ज्यान गुमाई रहन्छन् ।शनिवार राती प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो । प्यूठान स्वर्गद्धारी नगरपालिका वडा नम्बर २ स्थित रुमाले भन्ने स्थानमा लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको हो ।

रोल्पा रुन्टीगढी गाउँपालिका ५ रुमालेका वर्ष २१ का सागर बस्नेत, वर्ष २४ का रिमबहादुर बस्नेत, वर्ष २५ का कबिराम बस्नेत, वर्ष १९ का बिरेन्द्र बाठा मगर, वर्ष १९ का थमन बाठा मगर, उमेर नखुलेका गोर्बधन बुढामगर र रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक वर्ष २५ कमल कुँवरले शनिबार राती भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाए ।१९ देखि २५ वर्ष उमेरका ति युवाको मृत्युले यतिबेला रुमाले गाउँ शोकमा डुबेको छ । अब मृतकको घर परिवार, श्रीमती र बालबच्चाको बिचल्ली हुनेछ । याे खबर नागरिक दैनिकमा छ ।