बाढी र पहिरोका कारण धादिङमा पृथ्वी राजमार्गको पुल भत्कियो

काठमाडौं । अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ ।चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्‍याउँदा यातायात आवतजावत नै बन्द भएको छ ।बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मोवाखोला नजिकैको ठाडो खोलाले टिपर पनि बगाएको छ ।अहिले धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो र सडकमाथि बाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार सबैभन्दा ठूलो पहिरो फुर्केखोलामा खसेको छ ।धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा पहिरोले तीनवटा गाडि बगाएको छ भने ४ वटा गाडी पुरिएका छन् ।त्यस्तै आइतबार देखि लगातारकोे वर्षाका कारण सोमबार बिहान पृथ्वीराजमार्ग अन्तरगत बेनिघाट रोराङ गाउँपालिका १० स्थित हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको पहिरोले ३ वटा सवारी साधन (एक मिनिट्रक र दुइवटा जीप ) त्रिशूलीमा बगेको र ४ वटा गाडी पुरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

गाडीबाट मानिसलाई निकालेर सुरक्षित स्थानमा सारिएको र रोकी राखेको गाडी पहिरोले पुरेको प्रहरीले जनाएको छ । पहिरोमा एउटा कार, २ डिआई गाडीसहित ४ वटा गाडी पुरेको छ। यस्तै, २ वटा डिआई गाडी र एउटा मिनी ट्रक पहिरोमा बगेर त्रिशूलीमा बगेर बेपत्ता भएको छ । उक्त घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।