हनुमन्तेको बाढीले भक्तपुर डुबानमा

भक्तपुर, ५ साउन । लगातारको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर डुबानमा परेको छ ।उर्लेर आएको हनुमन्तेको बाढीले भक्तपुरको बराही क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको भक्तपुर नगरपालिका–३ का वडाध्यक्ष रामकृष्ण गोराले जानकारी दिएका छन् ।हनुमन्ते खोला आसपासको करिब एक किलोमिटर क्षेत्र डुबानमा परेको उनले बताएका छन् । बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्र बढी प्रभावित बनेको उनले बताए । घरमा बाढी पस्दा जमिनको सतह भन्दा करिब चारफिट माथि पानी आइसकेको गोराले जानकारी दिए ।

हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी छिरेको प्रहरीले जनाएको छ । राममन्दिर बाराहीस्थानदेखि डाक्टर युवा मोरा हस्पिटल सल्लाघारी क्षेत्रमा रहेको करिब नौ सय रोपनी धानबाली डुबानमा परेको उनले जानकारी दिएका छन् ।वडा १ का अध्यक्ष श्यामकृष्ण खत्रीका अनुसार करिब सात सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली डुबानमा परेको छ । बाढीले धानबाली नष्ट गरे पनि आफ्नो वडाको बस्तीमा बाढी नपसेको उनले बताएका छन् ।अहिले दुई–तीन घरमा मात्र पानी पसेको छ बताउँदै वडाध्यक्ष खत्रीले भने, ‘सिर्जनानगर बाढीको जोखिम क्षेत्र हो ।’ भक्तपुरको यो क्षेत्र बर्षेनीजसो डुबानमा पर्दै आएको छ ।