पुनः धौलीगंगाको बाँध खोलिदै, सतर्क रहन आग्रह

६ श्रावण २०७७, मंगलवार प्रकाश चन्द्र भट्ट, दार्चुला ।भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको बाँध साउन १५ गते राती १२ बजे खोलिने भएको छ । एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार साउन १५ गते राति १२ बजेदेखि १६ गते बेलुकी पौने सात बजेसम्म बाँध खोलिने जनाइएको हो ।

परियोजनामा शिल्ट फ्लशिङ्ग र सरसफाइको गरिने भएकाले त्यसपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको हो ।सिफ्ट फ्लशिंगको लागि बाँधको ढोका खोलिए पश्चात नदीमा पानीको सतह बढ्ने भएकोले तटिय क्षेत्रमा जोखीम रहने हुदा सतर्कता अपनाउन दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले आग्रह गरे । बाँधका ढोका १५ राती देखि खोलिने भएको हुदा व्याँस गाउँपालिकाको वडा नं ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदि तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । पछिल्लो समय भारतीय प्रशासनले नेपाली प्रशासनलाई पूर्व सुचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । सोही अनुसार नेपाली प्रशासनले नदि आसपासका बासिन्दालाई बाँध खोलिने बारे जानकारी गर्दै आइरहेको छ ।