कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी

काठमाडौं : एनआईसी एशिया बैंक र कर्मचारी संचय कोषबीच समझदारी भएको छ । मंगलबार आफ्ना सेवाहरू डिजिटल माध्यममा लैजाने क्रमलाई निरन्तरता दिँदै कर्मचारी सञ्चय कोष बाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नका निमित्त कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी भएको हो ।उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कोषको तर्फबाट मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका हुन ।

बैंकले नेपाल क्लियरिङ्ग हाउस लिसँगको सहकार्यमा कर्म चारी सञ्चय कोषबाट कर्जा सुविधा लिईरहेका ऋणीहरूलाई सुविधाको निमित्त उनिहरुले उपभोग गरेको कर्जा बमोजिमको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने समझदारी गरेको हो । डिजिटल बैंकिङ्ग सेवामा अग्रणी स्थानमा रहिआएको यस बैंकले डिजिटल फस्र्ट बैंक बन्ने दीर्घकालीन लक्ष्यअनुरुप नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा विद्युतीय भुक्तानी जस्तो नवीनतम सुविधा ल्याएको छ । यस व्यवस्था अन्तर्गत अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता सञ्चालन गरेका कर्मचारी सञ्चय कोषका ऋणीहरूले नेपाल क्लियरिङ्ग हाउस लि. पोर्टल मा लग इन गरेपश्चात गोभमेन्ट पेमेन्टमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् ।

नगद रकम तथा चेक बोकी बैंकको शाखामा गई कर्मचारी सञ्चय कोषको कर्जाको साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्नुपर्ने वर्तमान अवस्थालाई यस नयाँ व्यवस्था अनुसार बैंक नै नगई घर तथा अफिसबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिनेछ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

२१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।उत्तरदायी बै‌किङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू. ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।