लकडाउनका बेला घर फर्केका युवा मिलेर फलाए तरबुजा

स्याङ्जा । लकडाउनका बेला घर फर्केका युवाहरु मिलेर तरबुजा फलाएका छन् । चापाकोट नगरपालिकाका वडा नं १० आँधीघाटका ९ जना युवाहरु मिलेर झण्डै डेढ रोपनी जग्गामा बेमौसमी तथा रेनुका जातको तरबुजा फलाएका हुन ।चापाकोट १० कै तल्लो खन्नामा झण्डै ५ बर्षदेखि बाँझो जग्गामा तरवुजा खेती गरिएको हो । तरबुजा लहराउदै फलेका छन् । एउटै फल ५ देखि ७ किलोसम्मका फलेका छन् ।युवाहरुले बाँझो जमिन आफैंले खनजोत गरेर लगाएका हुन । वीउ जमाएको १८ औं दिनमा बेर्ना रोपेको २ महिनापछि फल दिएको आशिष पंगेनीले बताए ।

पंगेनीले भने, ‘एक सय ५० वटा बिरुवा रोपेको र एउटै लहरामा ६÷७ वटासम्म फल लागेका छन्, अबको एक हप्ताभित्र खानका लागि तयार हुन्छन् ।’कोरोनाका कारण बन्द भएपछि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अध्ययरत २२ बर्षिय पंगेनी चैतको दोश्रो साता चापाकोट आएका हुन । विएसी एजी हर्टिकल्चरका छैटौं सेमेस्टरका विद्यार्थी पंगेनी जन्मथलो चापाकोट आएपछि उनले साथीभाईलाई आफनो ज्ञान बाड्नुका साथै समयको सदुपयोगमा जुटाएका हुन । जसले उनीहरुलाई तरबुजा खेती गर्न सिकाएको छ भने आयआर्जन पनि भएको छ ।

आधुनिक प्रबिधीको उपयोगसंगै प्लास्टिक मल्चिङ, थोपा सिचाइ, बायो फर्टिलाइजर, बोटानिकल पेस्टीसाइड र ट्राइकोड्रमा मिस्रीत स्थानिय मल, एकीकृत कीट र मलखाद् ब्यबस्थापन बिधीको प्रयोग गरी तरबुजा लगाएका हुन ।उनीहरुले ३ हजार किलो तरबुजाबाट करिब एक लाख ८० हजार आम्दानी हुने अनुमान छ । विभिन्न बिधामा आवद्ध ९ जना युवाहरुको सक्रियतामा गरिएको यो नमूना काम हो । विभिन्न संकायमा स्नातक तहमा अध्ययरत १८ देखि २२ वर्ष उमेर समूहका युवाहरु कृषि, भुगर्भ, ब्यवस्थापन, आइटीका आशिष पंगेनी, सन्दिप पंगेनी, रविन पंगेनी, प्रदिप चापागाई, सौगात श्रेष्ठ, अंकित खनाल, मनि खनाल, प्रविण खनाल हुन ।