२५ स्वास्थ्यकर्मी नियन्त्रणमा, यस्तो छ स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिनुको कारण…

वीरगञ्ज । खटाएको ठाउँमा नगएपछि स्वास्थ्यकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको छ । वीरगञ्ज महानगर अन्तर्गतका स्वास्थ्यकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।कोरोना महामारी नियन्त्रणको अभियानमा पूर्वाग्रही तरिकाले महानगरले खटाएको भन्दै गुनासो पोख्न बिहीबार बिहान महानगरपालिकाको कार्यालयमा पुगेका उनीहरुलाई एक्कासी प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको एक स्वास्थ्यकर्मीले बताए ।प्रहरीले स्वास्थ्यकर्मीहरुलाई जिल्लामा पुर्याएपछि अहिले स्वास्थ्यकर्मीहरु तनावमा परेका छन् ।

स्वास्थ्यकर्मीहरुका अनुसार भने उनीहरुलाई कोरोना पोजेटिभ रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लगेको हो ।यता, पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले भने खटाएको ठाउँमा नगएपछि किन नगएको हो सोधपुछका लागि जिल्ला प्रहरीमा ल्याइएको बताइन् । उनले २५ जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको बताइन् ।जिल्ला प्रशासन कार्यालयले एकतर्फी रुपमा शुरु गरेको मास टेस्टिगंका साथै नारयणी अस्पतालका स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि केही दिन पहिला पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले महानगरका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार महतोसँग स्वास्थ्यकर्मी माग गरेका थिए ।

सोही माग अनुसार महतोले महानगर अन्तर्गत खटिने स्वास्थ्यकर्मीहरुमध्ये ३० जनाको सूची तयार पारेर नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई बुझाए ।तर सो सूची बनाउँदा स्वास्थ्य शाखा प्रमुख पूर्वाग्रही बनेको स्वास्थ्यकर्मीहरुको आरोप छ । उनले महानगर अन्तर्गतका १ सय ६२ जना स्वास्थ्य कर्मचारीहरुमध्ये पूर्वाग्रही रुपले सूची तयार पारेर बुझाएको उनीहरुको आरोप छ । साथै, स्थानीय तह अन्तर्गतका स्वास्थ्यकर्मीहरुलाई सङ्घीय सरकार अन्तर्गतको नारायणीमा खटाउँदा के कस्तो सुविधा दिने हो, कसले दिने हो सो प्रस्ट नपारिकन खटाएको भन्दै कुराकानी गर्न बिहीबार महानगर पुगेका थिए ।

आफ्नो गुनासो लिएर महानगर पुगेका उनीहरुको समस्याबारे स्वास्थ्य शाखा प्रमुख महतोले केही वास्ता नदेखाएपछि काममा नगई महानगरमै बसिरहेका थिए । सोही बीच प्रहरी निरीक्षक रविभुषण यादवको नेतृत्वको प्रहरीको टोलीले नियन्त्रणमा लिएर जिल्ला लगेको हो ।काममा खटाउँन लाग्दा पनि जबरजस्ती गरिएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । जोखिममा खटिनुपर्ने उनीहरुलाई थप सुविधा तथा ड्युटी आलोपालो गर्नेबारे कुनै प्रष्ट नपारी वडा प्रहरी कार्यालयका प्रहरी घर-घर पठाएर पत्र बुझ्न लगाइएको एक स्वास्थ्यकर्मीले आरोप लगाए ।

साथै, परिवारका सदस्यहरुलाई तपाईको छोरा छोरीलाई कोरोना लागेको छ भन्दै भनेर डर देखाएर काममा खटिन बाध्य हुने स्थिति सिर्जना गरिएको स्वाथ्यकर्मीको दुखेसो छ । यस किसिमको त्रासले परिवारका सदस्य पनि थप तनावमा परेको उनीहरु बताउँछन् ।महानगरपालिका स्वास्थ्य शाखा प्रमुख अरुण महतो भने जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार ३० जना स्वास्थ्यकर्मीको सूची बुझाइएको बताए । पहिलो चरणमा १ सय ६२ जना मध्ये ३० जनाको सूची दिएको र अरुलाई पनि आलोपालोको आधारमा खटाइने भए पनि स्वास्थ्यकर्मीहरु काममा नगएको उनले भने ।

सेवा र सुविधामा बारेमा पछि पनि छलफल गर्न सकिने भन्दै काममै नजानु गलत भएको उनले बताए । त्यसैकारण, प्रहरीले नियन्त्रणमा लिएर लगेको महतो बताउँछन् । खटाएको काममा नजाने स्वास्थ्यकर्मीलाई महानगरले पनि कारवाही गर्ने महतोले जानकारी दिए ।