मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण, कार्यालय सिल

उदयपुर । उदयपुरको मालपोत कार्यालय बोक्सेका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित ३४ वर्षिय एक पुरुष कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको छ । अर्को सूचना नआएसम्मको लागि मालपोत कार्यालयबाट कुनै पनि सेवा सुविधा उपलब्ध नगराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिए ।उनका अनुसार समुदायमा कोरोना संक्रमण फैलिएकोले सवै सचेत हुनु पर्ने बताए ।

अतिआवश्यक काम बाहेक कोही पनि घर बाहिरबाट ननिस्किन प्रजिअ पाण्डेले सर्वसाधारणलाई अनुरोध गरेको छ । यस्तै एक जिल्लाबाट अर्को जिल्ला र अन्य जिल्लाबाट यस जिल्लामा आउनेहरुको लागि पनि कडाई गरिएको जानकारी दिए ।यस्तै मास्क नलगाई बस्नेलाई अवदेखि जरिवाना वा पक्राउ गर्नेसम्मको कार्य थालनी गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार माक्स नलगाई बजार जाने आउने तथा सार्वजनिक स्थलमा भिडभाड नगर्न अनुरोध गरिएको छ ।यस्तै विहिबार मात्रै बेलका नगरपालिका ९ रामपुर बजारका दुई जना व्यवसायीमा कोरोना संक्रमण देखिएको थियो ।

यसअघि भारतबाट आएका नागरिकहरुमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण समुदायका नागरिकमा पनि देखिन थालेको छ ।उदयपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८८ पुगेको छ । बेलका नगरपालिकामा २४ जना, त्रियुगा नगरपालिकामा ५१ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा १ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।