दार्चुलाका प्रजिअ पोखरेल भन्छन्, ‘पत्रले अप्ठ्यारो पारेपछि भारतीय अधिकारीले कुरा फेरे’

काठमाडौं। कालापानी क्षेत्रको नेपाली भूमिमा नेपालीलाई नै प्रवेश रोक्न आग्रह गर्दै पत्र लेख्ने भारतीय अधिकारीहरु अहिले अप्ठ्यारोमा परेपछि कुरा फेरेका छन् ।भारतको उत्तराखण्डस्थित धार्चुलाका सब–डिभिजनल मजिस्ट्रेट (एसडीएम) ले आफूले नेपाललाई कुनै पत्र नलेखेको भारतीय सञ्चारमाध्यमलाई बताउँदै कुरा फेरेका छन् ।तर दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने भारतीयहरुले कालापानी क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउनु भनी यसअघि पत्र पठाए पनि अहिले नेपालको जवाफपछि अप्ठेरोमा परेर कुरा फेर्न थालेको बताएका छन् ।

भारतीय पक्षले चिठी लेखेकै कारण दार्चुला जिल्लाले जवाफ पठाएको बताउँदै उनले नेपालले जवाफ पठाएपछि भारतीय अधिकारीहरु अफ्ठेरोमा परेको बताए ।भारतले अतिक्रमण गरिराखेको नेपाली भूमिमा नेपालीलाई नै प्रवेशमा रोक लगाउने गरी पत्राचार गरेपछि दार्चुलाका सीडीओले धार्चुलाको इलाका प्रशासनलाई नावी, कुटी र गुन्जी नेपालकै भएकाले नेपाली नागरिकलाई अवरोध नगर्न पत्र पठाएका थिए ।त्यसअघि भारतको धार्चुलास्थित इलाका प्रशासन कार्यालयका अधिकारीले उक्त भू–भागमा नेपालीहरु लुकिछिपी जाने गरेको भन्दै त्यस्ता गतिबिधिबारे सूचना दिन आग्रह गर्दै पत्राचार गरेको थियो ।

तर शुक्रबार एकाएक भारतीय सञ्चारमाध्यमले भारतको उत्तराखण्डस्थित धार्चुलाका सब–डिभिजनल मजिष्ट्रेटलाई उधृत गर्दै नेपाललाई त्यस्तो पत्र नलेखेको जनाएपछि नेपाली अधिकारीले भारतले पत्र लेखेको प्रष्ट गरेका हुन् ।नेपाललाईं पत्र पठाउने धार्चुलाका एसडीएम अनिलकुमार शुक्लाले नै आफूले पत्र लखेको भन्ने खबर झूठो भएको दाबी गरेका छन् । भारत धार्चुलाका अधिकारीले १४ जुलाईमा नेपाली अधिकारीलाई लेखेको पत्रको जवाफ नेपाली अधिकारीले भने १४ दिनपछि २८ जुलाई अर्थात् साउन १३ गते पठाएका थिए ।