सरकार जनताको घरघरमा पुगेर सेवा दिइरहेको छः मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको सरकारले जनताकै घरघरमा पुगेर सेवा प्रवाह गरिरहेको बताए ।झापाको अर्जुनधारा नगरपालिकामा मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक परियोजना अन्र्तगत निर्मित सडकको आज उद्घाटन गर्दै सानातिना काम स्थानीय, मझौला प्रकृतिका प्रदेश र ठूला आयोजना सङ्घीय सरकारबाट पूरा हुने भएकाले अब कोही पनि निराश बन्नु नपर्ने जिकिर गरे ।अर्जुनधारा – ६ र ९ स्थित माता मन्दिरदेखि प्रणामी मन्दिरसम्मको मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक शान्ति निर्माण सेवाले रु ८८ लाख ११ हजार १७१ को लागतमा निर्माण गरेको बताइएको छ ।

त्यस्तै मुख्य मन्त्री राईले अर्जुनधारा जलेश्वरधाम जाने बाटामा रहेको कृष्ण–अर्जुन रथको प्रतिमा तथा अर्जुनधारा–१ र २ को बेलटारस्थित प्रदेश सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा बनेको दुग्ध सङ्कलन केन्द्र (चिलिङ सेन्टर)को समेत उद्घाटन गरे ।रासस