सहकारीलाई घरदैलो सेवा बन्द गर्न अपील

काठमाडौं। सहकारी संस्थाहरुले घरदैलोमा पुगेर बचत संकलन र निक्षेप भुक्तानी सेवा स्थगन गर्न राष्ट्रिय सहकारी महासंघले अपील गरेको छ। कोभिड–१९ संक्रमण बढ्दै गएपछि महासंघले सूचना सार्वजनिक गरी स्वास्थ्य सतर्कता अपनाउँदै सेवा प्रदान गर्न आग्रह गरेको हो। महासंघले कोभिड १९ संक्रमण फैलन नदिनका लागि कार्यालयमा हात धुने व्यवस्था र स्यानिटाइजरको प्रयोग गर्न तथा मास्क लगाएर मात्र सेवा दिन आग्रह गरेको छ। यसैगरी कार्यालय प्रवेश गर्दा ज्वरो नाप्न र अनावश्यक व्यक्तिलाई प्रवेश गर्न नदिन भनेको छ।

यस्तै सम्भव भएसम्म प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह गर्न र अत्यावश्यक कामका लागि ५० प्रतिशत जनशक्तिबाट कार्यालयको सेवा प्रवाह गर्न समेत आग्रह गरेको छ। पूर्णरुपमा संस्था बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएमा सम्पर्क व्यक्ति तोकेर सदस्यलाई अत्यावश्यक सेवा दिन महासंघले अपिल गरेको छ। सहकारी संस्थाहरुले घरदैलोमा पुगेर बचत संकलन गर्दा कोरोना संक्रमणको जोखिम बढाएको भन्दै आलोलना भइरहेको छ। काठमाडौं उपत्यकाका केही सहकारी संस्थाका कर्मचारीमा कोरोना संक्रमणको पुष्टि समेत भइसकेको छ।