फ्रान्स र नेदरल्याण्ड्सबाट बेलायत आउने व्यक्तिहरुलाई १४ दिनको क्वरेण्टीनमा राखिने

काठमाण्डौ – फ्रान्स र नेदरल्याण्ड्सबाट बेलायत आउने व्यक्तिहरुलाई १४ दिनको क्वरेण्टीनमा राखिने भएको छ । बेलायतका यातायात मन्त्री ग्रान्ट शाप्सले मोनाको र मालटाबाट आउने व्यक्तिमा पनि यो नियम लागू हुने बताउनुभएको छ । उहाँका अनुसार शनिबार बिहान ४ बजेदेखि यो नियम लागू हुनेछ । मन्त्री शाप्सका अनुसार कोरोनाको सङ्क्रमणदर कम गर्नको लागि यो गर्नु जरुरी थियो । युरोपको कैयौँ देशमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणदर बढिरहेको छ । यही कारण बेलायत सरकारले यस्तो घोषणा गरेको हो ।

स्पेनबाट आउने व्यक्तिमा पनि २५ जुलाईदेखि क्वरेण्टीन नियम लागू गरिएको थियो । बिहीबार फ्रान्समा दुई हजा पाँच सय २४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो, मे महिनामा लकडाउन गरिएपछि एकैदिन सबैभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो ।फ्रान्सका प्रधानमन्त्री जिन क्यासटेक्सले मङ्गलबार भनेका थिए, काेराेना सङ्क्रमणकाे सङ्ख्या पछिल्लाे दुई हप्तायता गलत दिशामा गइरहेकाे छ । बिहीबार बेलायतका प्रधानमन्त्री बाेरिस जाेनसनले विदेशमा बिदा मनाएर आउनेका लागि निकै कडा नियम बनाइने बताउनुभएको छ ।