कोरोना बीमाले बढायो निर्जीवन बीमा कम्पनीको व्यावसाय, १ महिनामा २ अर्ब ७० बीमाशुल्क आर्जन

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय कोरोना बीमाले बढाएको छ । कोरोना महामारीमा चौतर्फीरुपमा आर्थिक क्रियाकलापमा नकारात्मक असर परेसँगै प्रायः क्षेत्रका व्यापार व्यवसाय घटेको छ ।यसबीचमा जीवन बीमा कम्पनीकोे व्यवसाय ३.५५ प्रतिशतले घट्दा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय भने कोरोनाकै कारण १०.८९ प्रतिशत बढेकोे देखिन्छ ।निर्जीवन बीमा कम्पनीहरुले अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि तथा बाली, इन्जिनियरिङ तथा अन्य विविध बीमाका साथै कोरोना बीमालेख समेत बिक्री गर्दै आएका छन् ।

चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिना अर्थात् साउनमा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा १०.८९ प्रतिशत अर्थात २६ करोड ५२ लाख रुपैयाँ बढी हो । गत आवको साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ४३ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आवको पहिलो महिनाको तुलनामा चालु आवको सोही अवधिमा ३.५५ प्रतिशतले घटेको छ ।सञ्चालनमा रहेका २० वटा जीवन बीमा कम्पनीहरुले गत आवको साउन महिनामा १० अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

जुन चालु आवको सोही अवधिमा ३.५५ प्रतिशतले घटेर १० अर्ब १४ करोड रुपैयाँ सीमित भएको छ ।बीमा समितिले बैशाख पहिलो साताबाट निर्जीवन बीमा कम्पनीहरुमार्फत् कोरोना बीमा शुरु गरेको थियो । जसमा कम्पनीहरुले बीमा कम्पनीहरुले कोरोना बीमा लेख ५ हजार रुपैयाँ र १ लाख रुपैयाँ गरी दुई प्रकारका बीमा लेख बिक्री गर्दै आएका छन् ।कोरोना बीमा शुरु भएपछि निर्जीवन बीमा कम्पनीहरुले हालसम्म ८ लाख ४ हजार ३ सय ६१ जनाको ४५ करोड २२ लाख ६७ हजार ४८२ रुपैयाँ बराबरको कोरोना बीमा शुल्क संकलन गरेको छन् ।

बीमा समितिबाट उपलब्ध तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्म सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १९ वटा कम्पनीले २ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।समितिले उपलब्ध गराएको तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको सो अवधिको बीमा शुल्क संकलनको विवरण समावेश गरिएको छैन् । हालसम्म राष्ट्रिय बीमा कम्पनीले १ करोड ७३ लाख ७० हजार रुपैयाँ कोरोना बीमा शुल्क संकलन गरेको छ ।चालु आवको पहिलो महिनामा ३ वटा निर्जीवन बीमा कम्पनीले २० करोड रुपैयाँ बढी र १० वटा कम्पनीले २० करोड रुपैयाँ भन्दा कम १० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी २९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले हालसम्म कोरोना बीमा गरे वापत ८ करोड ६२ लाख रुपैयाँ बढी बीमा शुल्क संकलन गरेको छ ।सो अवधिमा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीको सुचीमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी छ । कम्पनीले सो चालु आवको साउन महिनामा २३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । हालसम्म कम्पनीले कोरोना बीमा वापत भने ३ करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।यसैगरी, नेको इन्स्योरेन्सले चालु आवको साउन महिनामा २२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

कम्पनीको हालसम्म कोरोना बीमा शुल्क संकलन भने २ करोड ७४ लाख रुपैयाँ बढी छ । साथै, एनएलजीले चालु आवको साउनमा १८ करोड कुल बीमा शुल्क र हालसम्म २ करोड ४१ लाख बढी कोरोना बीमा शुल्क संकलन गरेको छ ।प्रिमियर इन्स्योरेन्सको साउनमा कुल बीमा शुल्क १८ करोड र हालसम्मको कोरोना बीमा शुल्क १ करोड ७९ लाख बढी छ । ओरियन्टल इन्स्योरेन्सले चालु आवको पहिलो महिनामा १४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ भने हालसम्म ६९ लाख रुपैयाँ बढीको कोरोना बीमा शुल्क वापत प्राप्त गरेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सले साउन महिनामा १३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले हालसम्म २ करोड ४ लाख रुपैयाँ कोरोना बीमा शुल्क संकलन गरेको छ ।प्रुडेन्सियल इन्स्योरेन्सको सो साउन महिनामा १२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन र हालसम्म ८१ लाख रुपैयाँ कोरोना बीमा शुल्क संकलन छ ।प्रभु इन्स्योरेन्सले साउन महिनामा ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ भने हालसम्म १ करोड ४६ लाख रुपैयाँ बढी कोरोना बीमा शुल्क संकलन गरेको छ । आइएमई जनरल इन्सयोरेन्सले चालु आवको साउन महिनामा ११ करोड बीमा शुल्क संकलन गरको छ भने, हालसम्म २ करोड ६६ लाख बढी कोरोना बीमा शुल्क संकलन गरेको छ ।

यसैगरी अजोड र नेपाल इन्स्योरेन्सले साउन महिनामा ११÷११ करोड रुपैयाँ कुल बीमा शुल्क आजेन गरेका छन् । यी कम्पनीले हालसम्म क्रमशः ३ करोड ५ लाख र १ करोड ४९ लाख रुपैयाँ बढी कोरोना बीमा शुल्क संकलन गरेका छन् ।चालु आवको साउन महिनामा एभरेष्ट इन्स्योरेन्सले १० करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ८ करोड रुपैयाँ र जनरल इन्स्योरेन्सले ७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले हालसम्म क्रमशः १ करोड ६१ लाख रुपैयाँ, १ करोड ८४ लाख रुपैयाँ र ९१ लाख रुपैयाँ कोरोना बीमा शुल्क संकलन गरेका हुन् ।

साथै, हिमालयन जलनरले ६ करोड रुपैयाँ र सानिमा जनरल इनस्योरेन्सले ४ करोड रुपैयाँ साउन महिनामा बीमा शुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले हालसम्म क्रमशः २ करोड ७० लाख रुपैयाँ र ७६ लाख रुपेयाँ बढी कोरोना बीमा शुल्क संकलन गरेका हुन् ।