राज्य कोषबाट सुविधा लिने राष्ट्रपति, प्रधानमन्त्रीसहित सबैको तलब रोकियो

काठमाडौँ – राज्य कोषबाट सुविधा लिने राष्ट्रपति, प्रधानमन्त्रीदेखि सबै व्यक्तिको तलब, भत्ता, पेन्सनलगायतका सुविधा रोकिएको छ। मन्त्री, संघीय तथा प्रदेशसभाका सांसदहरु, निजामति कर्मचारी, सुरक्षा निकाय, संवैधानिक निकायका पदाधिकारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलगायत सबैको साउन महिनाको तलब वितरण गर्न ढिलाइ भएको हो। सामान्यतया महिनाको २६ गतेभित्र तलबभत्ता पाइसक्ने भए पनि साउन महिनाको तलब शुक्रबार(भदौ १२) भइसक्दा सीमित कर्मचारीले मात्र प्राप्त गरेका छन्।

समयमै तलब नआउँदा कर्मचारी तथा सांसदहरु दैनिक खर्च नभएको गुनासो गर्न थालेका छन्। राष्ट्रियसभाका सांसद रामचन्द्र राईले शुक्रबारसम्म तलब नपाएको बताए। उनले भने, ‘खै अहिलेसम्म तलब आएको छैन। बैंकमा फोन गर्दा सिस्टम मिलाउँदै छौं। केही दिन लाग्छ भनेका छन्।’ नेपाल प्रहरीका एक उच्च अधिकारीले पनि शुक्रबारसम्म तलब नबाँडिएको बताए। ती अधिकारीले भने, ‘यसअघि महिना नसकिँदै तलब आउँथ्यो तर यसपटक आएको छैन। सिस्टममा मिलाउँदै छौं भन्ने जानकारी पाएका छौं।’ संघीय संसदअन्तर्गतका केही कर्मचारीले बिहीबार तलब पाए पनि अधिकांशले पाएका छैनन्।

आधिकारिक ट्रेड युनियका अध्यक्ष मेघराज अर्यालले नयाँ लेखा प्रणालीको सुरुवात गर्दा तलब आउन ढिलाइ भएको आफूले जानकारी पाएको बताए। ‘धेरै साथीहरुले तलब नआएको बताएपछि मैले महालेखा नियन्त्रकको कार्यालयमा बुझेको थिए। नयाँ लेखा प्रणालीको सुरुवात गर्न ढिलाइ भएको रहेछ। मैले पनि पाएको छैन, उनले भने। महालेखा नियन्त्रकको कार्यालयका अनुसार राज्य कोषमा पैसा नभएका कारण नभइ नयाँ आर्थिक वर्षसँगै नयाँ लेखा प्रणालीको सुरुवात गर्दा तलब भक्ता विरणमा ढिलाइ भएको हो।