अमेरिकी राष्ट्रपतिका दाबेदार बाइडेनलाई ८१ जना नोबेल पुरस्कार विजेताको समर्थन !

एजेन्सी । अमेरिकी राष्ट्रपतिका दाबेदार (डेमोक्रेट पार्टीका उम्मेदवार) जो बाइडेनलाई अमेरिकाका नाेबेल पुरस्कार विजेताहरूले खुला समर्थन गरेका छन् । ८१ जना नोबेल पुरस्कार विजेता अमेरिकीहरूले आगामी राष्ट्रपति निर्वाचनमा बाइडेनलाइ समर्थन गर्नेसम्बन्धी खुलापत्र लेखेका छन् । उनीहरूले पत्रमा विज्ञहरुको आवाज सुन्न इच्छुक हुनु र समस्या समाधानमा विज्ञानको प्रयोग हुनुपर्ने धारणा राख्नु अधिक प्रशंसनीय रहेको कुरा उल्लेख गरेकाे सिएनएनले जनाएकाे छ ।विज्ञानसम्बन्धी विषयहरु– केमेस्ट्री, मेडिसिन र फिजिक्समा नोबेल पुरस्कार प्राप्त गरेका सबै वैज्ञानिकहरुले बाइडेनलाइ पत्र लेखेर समर्थन जनाएका हुन् ।

कोरोना महामारीका कारण देश इतिहासमै जटिल अवस्था रहेकाे र याे वेलाजति विज्ञानको आवश्यकता कहिल्यै नपरेको हुँदा राष्ट्र प्रमुखले वैज्ञानिक तथ्य र खोजकै आधारमा निर्णय लिनु अत्यन्तै महत्वपूर्ण भएको उनीहरूले पत्रमा उल्लेख गरेका छन् ।‘आजसम्मको लामो रेकर्डमा जो बाइडेनले निरन्तर विज्ञानमाथि भरोसा प्रकट गर्दै विज्ञहरुको कुरा सुन्नमा जोड दिँदै आएका छन्,’ पत्रमा उल्लेख छ, ‘रिसर्चमा अन्तर्राष्ट्रिय सहकारिताको महत्व बुझ्नुका साथै देशका बुद्धिजीवीहरुमा आप्रवासी नागरिकहरको मुख्य योगदानप्रति पनि उनले सम्मान व्यक्त गर्दै आएका छन् ।’

पछिल्लाे काेराेना भाइरस महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित भएकाे छ अमेरिका । यस्ताे वेला त्यहाँका नागरिकले भरपर्दाे नायककाे खाेजी गरेकाे बताइएकाे छ । ‘एसएसआरएस’ ले सञ्चालन गरेको हालैको सीएनएन सर्वेक्षणमा दशमध्ये सात नागरिकहरुले महामारीसम्बन्धी अमेरिकाको प्रतिक्रिया शर्मनाक रहेको बताएका छन् । सो सर्वेक्षणमा महामारी सम्हाल्ने विषयमा हालसम्मकै उच्च, ५८ प्रतिशत ट्रम्पको विपक्षमा रहेको पनि देखिएको छ ।बाइडेनले पनि यससम्बन्धी ट्रम्प प्रशासनको विरोध गर्दै उनलाई कम बोल्न र स्वास्थ्यविद्हरुको कुरा धेरै सुन्न सुझाव दिएका हुन् । तर ट्रम्प काेराेना नियन्त्रणमा सुरूदेखि नै गम्भीर नरहेकाे अाराेप लाग्ने गरेकाे छ ।