थपिए ५५ अन्तर्राष्ट्रिय उडान

काठमाडौँ ।मन्त्रिपरिषदले अन्तर्राष्ट्रियतर्फ दैनिक आगमन यात्रु ८ सयसम्म नबढ्ने गरी नियमित र चार्टर उडान सञ्चालन गर्ने आदेश दिएपछि ५५ वटा उडान थपेर १ सय ४२ वटा उडानलाई अनुमति दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान संख्या थप गरेको हो ।भदौ १४ गतेको मन्त्रिपरिषद बैठकले चार्टर र नियमित दुवै उडानबाट आउने यात्रुको संख्या ३ सय थप्दै ८ सय र्पुयाएको थियो । सरकारले भदौं ४ को जारी गरेको यात्रु संख्या ५ सयको आदेश संशोधन गरिदिएछि मन्त्रालयले भदौ १६ देखि असोज १४ सम्मको एक महिनामा ९३ वटा नियमित र ४९ वटा चार्टर उडानलाई काठमाडौंका लागि अनुमति दिएको हो ।

सरकारले पहिलोपटक भदौ ४ गते मन्त्रिपरिषद्बाट दैनिक आगमन यात्रु ५ सय नबढ्ने गरी चार्टर उडानसँगै निमियत उडान खुला गर्ने निर्णय गरेको थियो । तर, नेपाल आउने यात्रुको संख्या विदेशमा अत्याधिक भएको र थोरै उडानमा टिकट अत्याधिक महँगो भएपछि सरकारलाई उडान संख्या बढाउन दबाब परेको थियो ।मन्त्रालयका एक अधिकारीका अनुसार नियमित तथा चार्टर उडानले काठमाडौंमा यात्रु ल्याउँदा बिहान ६ बजेदेखि बेलुकी ६ बजेभित्र आइसक्नुपर्ने छ ।नियमित उडानमा नेपाल आउने यात्रुले उडान हुनु ७२ घन्टाभित्रको पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य ल्याउनु पर्ने नियम छ । एउटै उडानमा पीसीआर जाँच गरेका र नगरेका यात्रु मिसाएर ल्याउन रोक लगाइएको छ ।