कांग्रेस नेता शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । गएराति एक्कासि शरीरको तापक्रम बढेपछि उनलाई ओम अस्पतालमा भर्ना गरिएको हो । महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले अस्पताल भर्नाको पुष्टि गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । “राति अचानक ज्वरो आएपछि उहाँलाई अस्पताल ल्याएका हौं । स्वास्थ्य अवस्था सामान्य छ,” उनले भने, “केहीबेरपछि अस्पतालले हेल्थ बुलेटिन जारी गरेर विस्तृत जानकारी दिन्छ ।”

‘अहिले ज्वरो हटे पनि उहाँमा निमोनियाको संकेत देखिएको डाक्टरले बताएका छन्,’ तिवारीले भने।कोइरालाको उपचारमा ओमका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ। उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले बताए। तिवारीका अनुसार कोइरालामा अहिले ज्वरो छैन। उनले बिहान जुस पिएका छन्। महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।