५० रुपैयाँ किलोमा पाइने प्याजको मूल्य एक्कासि बढेर एक सय पुग्यो

विराटनगर । तीन दिन अघि सम्म बजारमा प्रति किलो ५० रुपैयामा पाइने प्याजको मुल्य एक्कासि दोब्बरले बढेर एक सय रुपैया किलो पुगेको छ ।व्यापारीहरुले भारतको नासिकबाट ल्याइएको प्याज भंसार नाका सम्म आइपुगेको अवस्थामा करिब २ सय १० मेट्रिक टन प्याज सिमावर्ती जोगबनी भंसारमा रोकिएको छ । भारतमा प्याजको मुल्यवृद्धि भएको र निर्यात समेत रोकेकाले चीनबाट आयात गर्ने थोक विक्रेताहरुले बताएका छन् ।एक साता अघि प्रति किलो १२ भारतिय रुपैयाँ रहेको प्याजको थोक मुल्य नासिकमा नै ४८ भारु पुगेकोले यहा पनि प्याजको मुल्य बढेको थोक विक्रेताहरुले बताएका छन् ।

उनिहरुले महंगोमा किन्नु परेकोले मंहगै बेच्न बाध्य भएको बताएका छन् ।विराटनगर स्थित भन्सार कार्यालयहुदै गत आर्थिक वर्षमा भारतबाट ४ हजार ६ सय ४७ मेट्रिक टन प्याज आयात भएकोमा यस आर्थिक वर्षको भदौ २४ गते सम्म १ हजार ६ सय मेट्रिक टन प्याज आयात भएको विराटनगर भंसार कार्यालयमा प्रमुख भंसार अधिकृत शिव भण्डारीले जानकारी दिनुभयो ।चीनबाट विराटनगरसम्म प्याज ल्याउन बढीमा २० दिन लाग्ने र चिनियाँ प्याज आएपछि प्याजको मुल्य घट्ने पनि प्याजका थोक विक्रेताहरुको भनाइ छ ।