काठमाडौं उपत्यकाको नि’षेधाज्ञा र जोरबिजोर प्रणाली यथाबत

काठमाडौं। एक साताअघि खुकुलो पार्दै जारी गरिएको ‘सीमित निषेधाज्ञा’को समय बुधबार राति १२ बजे सकिँदैछ। त्यसको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ। बैठकले अब निषेधाज्ञा लगभग खुलाएको छ। तर, केही क्षेत्रका लागि भने अर्को आदेश नहुञ्जेल निषेधाज्ञा कायमै हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। उनका अनुसार बुधबारको बैठकले खोल्न नपाइने व्यवसाय र क्षेत्रका लागि मात्र निषेधाज्ञा तोकेको छ।

बुधबारसम्म कायम निषेधाज्ञा लगभग हटेको छ। यसअघि मन्त्रिपरिषद बैठकले सार्वजनिक सवारीसाधन र आन्तरिक हवाई सेवासमेत खुलाउने निर्णय गरेको थियो। दाहालका अनुसार यसअघि उपत्यकामा अत्यावश्यक र कार्यालय प्रयोजनबाहेक सार्वजनिक सवारीमा लागू गरिएको जोरबिजोर यथावत् राख्ने निर्णय भएको छ। भदौ २४ गते निषेधाज्ञा खुकुलो पार्दै प्रशासनले केही क्षेत्रलाई बन्देज लगाएर धेरैजसो क्षेत्रमा निषेधाज्ञा खुलाएको थियो। दाहालका अनुसार उपत्यकाका सबै नाका खुला पारिएको छ। नाकाबाट आवतजावत गर्दा हुने स्वास्थ्य जोखिमबारे अब सर्वसाधारण स्वयम् जिम्मेवार हुनुपर्ने छ।

उनका अनुसार अब सार्वजनिक/निजी सवारीसाधन पूर्ववत् चल्न पाउँछन् तर, स्वास्थ्य मापदण्ड भने पालना हुनुपर्ने निर्णय भएको उनले बताए। मास्क, सेनिटाइजरलगायत स्वास्थ्यका मापदण्ड पालना भए-नभएको प्रशासनले अनुगमन गर्नेछ। नियम पालना नभएको देखिए संक्रामक रोग ऐनअन्तर्गत कारबाही गर्ने छ। दाहालका अनुसार बिहीबारदेखि सबै खालका पसल खुल्नेछन्, उनीहरूका लागि यसअघि तोकिएको समय हटाइएको छ। यसअघि होटल खोल्न बन्देज लगाइएकोमा अब त्यो हटेको छ। कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसलमा लगाइएको समय पनि हटेको छ। सपिङ मलहरू पनि पूर्ण रुपमा खुल्नेछन्।