महामन्त्री डा. कोइरालाको आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई मंगलबार साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।उनका अनुसार महामन्त्री डा कोइरालाको अहिले सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको छ । “अस्पताल आएदेखि नै हामीले आइसीयूमा राखेर उपचार गरिरहेका छौं”, उनले भने, “अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।”

उनका अनुसार महामन्त्री डा कोइरालालाई निमोनिया भएको छ । महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोधसागर ढकाल र डा प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए । केही दिनअघि महामन्त्री डा कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो । – रासस