लामो दूरीका यातायात आजदेखि सञ्चालनमा

काठमाडौं : लामो दूरीका सार्वजनिक यातायात झन्डै ६ महिनामा बिहीबारदेखि सञ्चालनमा आउँदै छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेदेखि लामो दूरीका यातायात चलाउन दिने निर्णय गरेको थियो। ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी सार्वजनिक यातायात चल्न दिने निर्णयमा उल्लेख छ। एक लाइनको सिटमा एक जना मात्रै यात्रु राखेर यातायात सेवा सञ्चालन गर्नुपर्ने सरकारको सर्त छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार मन्त्री, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बिहीबारदेखि लामो दूरीका सवारी सञ्चालन गर्ने सहमति भएको छ। त्यसको मापदण्ड बनाउन यातायात व्यवस्था विभागलाई जिम्मा दिइएको छ। त्यही मापदण्डभित्र रहेर व्यवसायीले लामो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्नुपर्नेछ।