डिभी २०२० समाप्त !

एजेन्सी , आज डिभी लोटरी २०२० को भिसा जारी गर्ने अन्तिम मिति हो । डिभी २०२० का विजेताहरुले सेप्टेम्बर ३० सम्म भिसा पाइसक्नुपर्ने प्रावधान रहेका कारण बाँकी विजेताहरुले भने भिसा नपाउने भएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले डिभी २०२० का विजेताहरुलाई भिसा पाउनमा रोक लगाएपनि अदालतको आदेशले केहीसाता अगाडि त्यस्तो रोक खारेज गरिदिएको थियो । त्यसपछि आफूहरुले डिभी २०२० का नेपाली विजेताहरुलाई सकेजति भिसा जारी गरेको अमेरिकी दूतावास काठमाडौंले सामाजिक सञ्जालमा जनाएको छ ।

ट्रम्पको कार्यकारी आदेशपछि भिसा पाउन बाँकी डिभी २०२० का विजेताहरु २५ सय भन्दा बढी रहेका थिए । तर ती मध्ये कतिजनालाई भिसा जारी गरियो भन्नेबारे अमेरिकी दूतावास काठमाडौंले केही खुलाएको छैन । ट्रम्पको कार्यकारी आदेशका कारण २०२१ का डिभी विजेताहरुले भने डिसेम्बर ३१ भन्दा अगाडि भिसा नपाउने दूतावासले स्पष्ट पारेको छ ।नियमित भिसा सेवाका लागि दूतावास अझै पनि बन्द रहेको दूतावासले जनाएको छ । आफूहरुले अझै पनि रिटर्निंग रेसिडेन्स भिसा प्रकृयामा लैजान नसकेको दूतावासको भनाई छ ।

ग्रिनकार्डमा नेपालमा गएर महामारीका कारण १ बर्षभित्र फर्कन नसकेका र २ बर्षको ट्राभल डकुमेन्टमा नेपाल गएर सोही अवधिभित्र अमेरिका फर्कन नसकेकाहरुले यो भिसाका लागि आवेदन दिनसक्ने प्रावधान रहेको छ ।विद्यार्थी र भिजिटर भिसाका आवेदनहरु पनि प्रकृयामा लैजान नसकेको दूतावासले जनाएको छ । कहिले खुल्छ भन्ने अहिले नै भन्न नसकिने तर त्यसबारेमा अपडेट गर्दै जाने दूतावासको भनाई छ । नियमित भिसा सेवा संचालनका लागि अन्य कैयन महिना लाग्ने दूतावासले जनाएको छ ।सन् २०२० को डिभी लोटरीका लागि छनौट भएका २६ सय भन्दा धेरै नेपालीहरु भिसाको प्रतिक्षामा रहेका थिए । खसोखास