चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि

इलाम, प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ ।गएको आर्थिक वर्ष २०७६/७७ को (साउन–भदौ) मा रु ६४ करोड २३ लाख एक हजार बराबरको चिया निकासी भएकामा यस आव (साउन–भदौ) मा रु एक अर्ब ५८ करोड ६६ लाख ५७ हजार मूल्य बराबरको चिया निकासी भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

केन्द्रको तथ्याङ्कअनुसार गएको आव २०७६/७७ मा २३ लाख ५० हजार ७९० किलो चिया निकासी भएकामा यस आवमा बढेर ५३ लाख १७ हजार ५८२ किलो चिया निर्यात भएको छ । चियाको निकासी र आम्दानी ह्वात्तै बढ्नुका कारण भने भारतमा चिया उत्पादन कम हुनु भएको सरोकारवालाको भनाइ छ ।कोरोना र मौषमले भारतमा चिया उत्पादन घटेकाले भारतमा नेपाली चियाको माग बढेको नेपाल टी एशोसिएशनका अध्यक्ष कमल मैनाली बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भारतमा २५ प्रतिशत चिया उत्पादन घटेको छ ।त्यसैले चियाको निकासी नेपालमा बढेको हो ।”

मैनालीका अनुसार नेपालका चिया किसानले चियाको उल्लेखीय मूल्य पाएकाले बढी निकासी भएको हो । निकासी बढे पनि नेपालमा चियाको उत्पादन भने नबढेको सरोकारवालाको भनाइ छ । गएको आर्थिक वर्ष कोरोनाका कारण निकासी नभएको चिया पनि यस आव निकासी हुँदा तथ्याङ्क बढेको हुनसक्ने अनुमान गरिएको छ ।चियाको निकासी सधैँ अस्थिर रहने भएकाले पनि घटबढ भइरहन्छ । तर यस वर्षको शुरुमा भने अत्यन्त बढी अन्तर आएको छ । जुन अन्तरका कारण नेपालमा निकासी हुने वस्तुको दोस्रो बढी निकासी हुने वस्तुमा चिया परेको छ ।

वर्षको शुरुमा अन्तर बढे पनि वर्षभरको तथ्याङ्कमा फरक नपर्ने बताउनुहुन्छ, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार आव २०७४÷७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ किलो चिया निर्यात भएकामा गत आव २०७५÷७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो निर्यात भएको तथ्याङ्कले देखाउँछ । यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ ।