गृहमन्त्री थापाको भाषण सुनेर प्रहरीहरु हाँसिरहे..

काठमाडौं । नेपाल प्रहरीको ६५ औं स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिशेष अतिथी थिए। प्रधानमन्त्री ओलीले कसैको दबाब र प्रभावमा नपरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिए। गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीको मनोबल बढाउने गरी भाषण गरे। तर, उनको भाषण सुनेर प्रहरी अधिकारी भने हाँसिरहेका थिए। ‘प्रहरीको सुविधा बढाउन सरकार लागिपरेको छ’, गृहमन्त्री बादलले यस्तो भाषण प्रहरीले खुशी होइन पीडा दियो।

किनकि, कोरोना संक्रमण नियन्त्रणमा खटिएका प्रहरीले सात महिना हुँदा पनि कुनै सुविधा पाएका छैनन्। जबकी सरकारले नै उनीहरुलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो। तर, उपलब्ध गराउन समेत कुनै पहल गरेका छैनन्। दशैंको मुखमा प्रहरीहरु न त भत्ता, न त बिदा पाउने अवस्थामा छन्।प्रहरीको राशनभत्ता नबढेको पाँच वर्ष भइसकेको छ। अपराध अनुसन्धानमा खटिने प्रहरीलाई समेत प्रोत्साहन भत्ता दिइने भने पनि कार्यान्वायन हुन सकेको छैन। प्रहरीका सयौं कार्यालयहरु अझै टहरामा छन्। खरिदमा हुने चलखेलले यूनिफर्म समेत आफैं किनेर लगाउनुपर्ने अवस्था छ।

यस्तो अवस्थामा गृहमन्त्रीले झुटो आश्वासन दिएपछि प्रहरी अधिकारीहरु आश्चर्य व्यक्त गरेका हुन्। ‘हाम्रा गृहमन्त्री त मूर्तिजस्ता रहेछन्’, एक प्रहरी अधिकारी भन्छन्, ‘प्रहरीका कुनै समस्यामा पनि गम्भीरता छैन।’गृहमन्त्री बादलको असक्षमताका कारण प्रहरी संगठन कमजोर बन्दै गएको प्रहरी अधिकारीहरु बताउँछन्। कहिले डिआईजीको दरबन्दी काट्ने, कहिले थप्नेजस्ता निर्णय गर्नुले पनि गृहमन्त्रीको कार्यशैली प्रष्ट हुन्छ। प्रहरीका कतिपय प्रस्ताव मन्त्रीपरिषद्मा महिनौं रोकिदा पनि त्यसलाई पारित गराउन उनको कुनै पहल हुने गरेको छैन।

जसको असर सुरक्षा संगठनमा परेको छ। मन्त्री कमजोर हुँदा गृहमन्त्रीमा सचिव र सहयोगीहरुको हालीमुहाली बढेको छ। तिनीहरुले आफ्नो स्वार्थअनुसार संगठन चलाउन खोज्दा मन्त्री पंगु, संगठन निकम्मा बन्दै गएको छ ।यो खबर दृष्टि साप्ताहिकमा छापिएको छ ।