बाच्छु जस्तो लागेको थिएन, पुनर्जीवन पाएँ

काठमाडौं : नेकपा सचेतक शान्ता चौधरी कोरोना भाइरसको संक्रमणबाट निको भएकी छन्। उनले पुनर्जीवन पाएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफू निको भएको जानकारी दिएकी छन्। आज नेगेटिभ रिपोर्ट आएको जनाउँदै उनले भनेकी छन्, ‘बाँच्छु जस्तै लागेको थिएन। यसको अनुभव कुनै दिन सार्वजनिक गर्ने नै छु। आज कोरोना निगेटिभ भएको नतिजा आयो। लाग्यो मैले पुनर्जीवन पाएँ।’उनको वीर अस्पतालमा उपचार भइरहेको छ। चौधरीलाई आईसीयूमा राखेर उपचार गरिएको थियो। चौधरीलाई २२ दिन अघि कोरोना संक्रमण देखिएको थियो। आज रिपोर्ट नेगेटिभ आएको हो।

शान्ता चौधरीले सामाजिक सञ्जालमा लेखेको स्टाटस्: जोगिने कति नै कोसिस गर्दा पनि आखिर कोरोनाले आक्रमण गरिछाड्यो। पूरै १९ दिनको अस्पताल बसाइ र त्यसमा पनि अधिकांश समय आइसियुमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न सकिँदैन। पहिले देखिका गम्भीर रोगहरूका कारणले पनि कोरोनाले मलाई यसरी गलाएको हुनुपर्छ। पुराना रोग हुनेहरूलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकाले पनि बाँच्छु जस्तै लागेको थिएन। यसको अनुभव कुनै दिन सार्वजनिक गर्ने नै छु। आज कोरोना निगेटिभ भएको नतिजा आयो। लाग्यो मैले पुनर्जीवन पाएँ।

वीर अस्पतालका अति सघन उपचार कक्षको बेडमा बडो मुश्किलले सास फेरिरहँदा आफूलाई एकदम निरीह महसूस गर्थे। बाहिर हजारौं शुभचिन्तकहरू हुनुहुन्थ्यो जसले मेरो शीघ्र स्वास्थ्य लाभको कामना गरिरहनु भएको र मेरो स्वास्थ्यको चिन्ता गर्दै आवश्यक समन्वयका र सहजीकरणका लागि प्रयत्न गरिरहनु भएको थियो। तर म हजारौ शुभचिन्तकहरूको भीडमा एक्लो एक्लो महसूस गर्थें। यस्तो अनुभव अधिकांश कोरोना संक्रमितले गर्नुभएकै हुनुपर्छ। अझै म डिस्चार्ज भएकी छैन। यसैबिचमा बाफ लिँदा तातो पानीले खुट्टा पोलेर अर्को असह्य पीडा थपिएको छ।

त्यसैले कोरोनामुक्त भए पनि आफ्नै नित्य दैनिकीमा फर्कन मलाई समय लाग्नेछ। मैले लाखलाख धन्यवाद दिनुपर्ने पार्टीका श्रध्देय कामरेडहरू हुनुहुन्छ। मेरा समर्थक, शुभचिन्तक र नातागोताहरू हुनुहुन्छ। उहाँहरूलाई अहिले एकमुष्ट धन्यवाद दिन्छु। वीर अस्पतालका सबै डाक्टरहरू, मेरो सेवामा अहोरात्र खटिने नर्सहरू र समस्त अस्पताल परिवार प्रति म कृतज्ञ छु। उहाँहरूले मृत्यूको मुखबाट बाहिर निकालेर मलाई पुनर्जीवन दिनुभो। बेलाबेलामा हौसला दिइरहनु भयो। विशेष विशेष हेरचाह गर्नु भयो र आज म यो स्टाटस लेख्ने अवस्थामा फर्कें।

उहाँहरूका लागि मेरा शब्दका धन्यवाद अपुरो होला। अन्तमाः सबै सबैमा धेरै आधार व्यक्त गर्न चाहन्छु। अस्पत्तालबाट विदा हुँदाको दिन फेरि लेखुँला। विजया दशमीको सबैमा शुभकामना दिन चाहन्छु। कसैका परिवार पनि यो समयमा अस्पत्ताल बस्नु नपरोस्। अस्पत्ताल खोज्दै हिड्नु नपरोस्। हामी सबैमा यो कोरोनारुपी महाशत्रुमाथि विजय प्राप्त गर्न शक्ति मिलोस्। धन्यवाद!