आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले यसरी मनाए दशैँ

इटहरी , इटहरी आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले संयुक्त रुपमा विजयादशमीको टिका लगाएका छन् ।इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्वर ९ का वडाध्यक्ष भूपेन्द्र बराल टीका, जमरा, मीठाई लिएर आइसोलेसन पुगेका थिए । आइसोलेसनमा रहेकी एक जना ७८ वर्षिय आमाले सबै संक्रमितहरुलाई टिका लगाइदिइन् । उनले अबदेखि यस्तो अवस्थामा कहिल्यै पनि टीका लगाउनु नपरोस् भन्ने आर्शिवाद दिइन् ।टीकाको दिन उपमेयर आउँदा आमा आएको जस्तो लागेको संक्रमितहरुले बताए ।

परिवारबाट छुटेर बस्नुपर्दा नराम्रो लागिरहेको बेला दशैं ल्याइदिएको भन्दै संक्रमितहरुले धन्यवाद ज्ञापन गरे । आइसोलेसनमै भएपनि टिका लगाउन पाउदा संक्रमितहरुले खुशी ब्यक्त गरेका छन् ।दशै जस्तो चाडका बेला पनि आइसोलेसनमा बस्नुपर्दा संक्रमितहरुले दुःख मानेका होलान भनेर शुभकामना र सान्त्वना प्रदान गर्न टीका, जमरा लिएर आइसोलेसन पुगेको उपमेयर गौतमले बताइन् । आइसोलेसनमा २१ जना संक्रमित छन् ।