सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा लिइदै

डडेल्धुरा– कोरोना भाइरस महामारीको सन्त्रासकाबीच स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्वन गरेर डडेल्धुरा जिल्लाका माध्यामिक विद्यालयहरुमा कक्षा ११ को परीक्षा लिईन थालिएको छ। कक्षा ११ को परिक्षा दिन विद्यालयमा पुगेका विद्यार्थीहरुलाई स्वास्थ्य तथा सुरक्षाका सबै प्रक्रिया पूरा गरेर परीक्षा हलमा प्रवेश गराईन थालिएको हो। वार्षिक परिक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ अनुसार डडेल्धुराका विद्यालयहरुले कक्षा ११ को परीक्षा शुरु गरेको जनाएका छन् ।

३३ माध्यामिक विद्यालयमध्ये अजयमेरु गाउँपालिकामा रहेका बालकल्याण माध्यामिक विद्यालय र भद्रपुर माध्यमिक विद्यालयले कातिक १७ गतेबाट परिक्षा सञ्चालन गरेका थिए भने जिल्लाभरिका थप १७ माध्यामिक विद्यालयहरुले विहीबारदेखि परीक्षा सञ्चालन भएका छन। परीक्षा सञ्चालन गर्न राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय डडेल्धुरालाई बुझाएको तालिका अनुसार बिहीबारदेखि परीक्षा सञ्चालन भइरहेको कार्यालय प्रमुख नारदप्रसाद जोशीले बताए। उनका अनुसार परिक्षा सञ्चालन कार्यविधि २०७७ अनुसार विद्यालयहरुले आफूलाई पायक पर्ने समयमा परिक्षा सञ्चालन गरिरहेको जनाए।

जिल्लाका अधिकांस विद्यालयहरुले कातिक २० गतेबाट परिक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेका थिए। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गरेर कोरोना महामारीका बीच परीक्षा सञ्चालन भइरहेको परशुराम नगरपालिका–५ परिगाँउस्थित भुवनेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक डम्बरसिँह थ्वालले जानकारी दिए ।महामारीका कारण कोर्ष नै पूरा नभई विना तयारी परीक्षा दिई रहेका विद्यार्थीहरुको नतिजाका बारेमा अभिभावकहरु चिन्तित देखिन्छन्। साधारणतर्फका विद्यार्थीहरु भन्दा प्राविधिक धारतर्फको परीक्षा दिने विद्यार्थीहरुलाई बढी समस्या देखिएको परीक्षार्थीहरुको गुनासो छ।