मुगुको चामल सुर्खेतमै गायब !

मुगु । मुगुका लागि ल्याउन लागिएको खाद्यान्न कर्णाली प्रदेशको राजधानी सुर्खेतमै गायब भएको छ । जिल्लाको उत्तरी भेग सोरु गाउँपालिकाको बिक्री केन्द्रका लागि आएको २ सय ५० क्विन्टल खाद्यान्न ठेकेदारको लापरबाहीका कारण सुर्खेत सुब्बाकुनाबाट गायब भएको हो ।खाद्य संस्थानको चामल बिक्री गर्न लागिएको आशंकामा सुब्बाकुनाबाट सुर्खेत प्रहरीले ट्रकसहित चामल नियन्त्रणमा लिएको जानकारी दिएको छ ।सुर्खेतबाट बाहिर ढुवानी हुँदै गरेको शंकास्पद खाद्यान्न गत बिहीबार सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उक्त चामल ट्रकबाट भक्तपुर लैजान लागिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टका अनुसार ट्रकमा २ सय ५० क्विन्टल चामल रहेको थियो ।‘गाउँको चामल प्रदेश राजधानीमै गायब भएको खबर सुनेका छौं । दशैं जेनतेन चलायौं, अब तिहार कसरी मनाउने हो?’ –सोरु–८ का सोभुम बम बताउनुहुन्छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुका निमित्त कार्यालय प्रमुख पुष्कर भामले यसबारे भर्खरै मात्रै सूचना आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो चामल कहाँबाट आएको हो, कति छ, जानकारीमा छैन ।’

सोरुमा चामल पु¥याउने जिम्मा सिद्धार्थ ढुवानी सेवाले लिएको थियो । ठेकेदारहरुले सम्झौता गरेबमोजिम २० दिनभित्र सम्बन्धित स्थानमा पुग्नुपर्छ । कर्णाली प्रदेशको विकट मुगुका स्थानीयले वर्षैभर खाद्यान्न अभाव भोगिरहेका हुन्छन् । बीच बाटोमै खाद्यान्न गायब भएपछि प्रहरीको सक्रियतामा छानबिन अगाडि बढाइएको भामले बताउनुभयो ।ना६ख ५७२१ नम्बरको ट्रकमा रहेको २ सय ५० क्विन्टल चामल आपूर्तिकर्ता वासुदेव शर्माले भक्तपुर पठाउन लागेको जानकारीमा आएको अनुसन्धानमा संलग्न कर्मचारीले बताएका छन् ।याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।