१८ वर्षकी नीलांशीको विश्वरेकर्ड !

काठमाडौं। १८ वर्षकी किशोरी नीलांशी पटेलले आफ्नो पुरानो रेकर्ड तोड्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नयाँ रेकर्ड दर्ता गराएकी छिन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डसको आधिकारिक वेबसाइटका अनुसार भारतको गुजरातकी १८ वर्षकी किशोरी नीलांशीको कपालको लम्बाइ २ मिटर पूरा भएको छ र उनले तेस्रो पटक सबैभन्दा लामो कपालको रेकर्ड तोडेकी छिन् । पछिल्लो पटक उनको कपालको लम्बाइ २ मिटर अर्थात ६ फिट ६ इन्च रेकर्ड गरिएको छ ।नीलांशीले ६ वर्षको उमेरदेखि कपाल बढाइरहेकी छिन् ।

एक सैलुनमा भएको दुर्व्यवहारपछि उनले आफ्नो कपाल नकाट्ने निर्णय गरेकी थिइन् । गिनिज रेकर्डससँगको कुराकानीको क्रममा नीलांशीले आफूले १२ वर्षअघि कपाल काट्दा आफ्नो कपाल बिग्रिएकोले आफूले फेरि कपाल नकाट्ने निर्णय गरेको बताएकी छिन् । नीलांशीका अनुसार उनको कपालको हेरचाह गर्न उनकी आमाले सघाउँछिन् । नीलांशीले अहिले आफ्नै पुरानो रेकर्ड तोडेकी हुन् । यसअघि २०१८ मा उनले यो रेकर्ड बनाएकी थिइन् । त्यतिबेला उनको कपालको लम्बाइ ५ फिट ७ इन्च थियो । त्यतिबेलादेखि अहिलेसम्म उनको कपाल ११ इन्च बढेको पाइएको छ ।