गीत गाइरहेको ट्राफिक प्रहरीलाई बाटाे नसोध्नुहोस्, बोल्दैनन्…

काठमाडौं । शहरको कुनै व्यस्त चोकमा ट्राफिक प्रहरीको पोशाकमा कसैले गीत गाइरहेको देखेर तपाईँ बाटो वा अन्य कुनै ठेगाना सोध्न जानुभयो भने तपाईंले जवाफ नपाउन सक्नुहुन्छ । नरिसाउनुहाेस् यी डमी ट्राफिक प्रहरी हुन् । सक्कली ट्राफिक प्रहरीले तपाइँलाइ सहयाेग गर्नेछन् ।अहिले ट्राफिक नियमबारे जनचेतना जगाउन माइक समातेका डमी प्रहरीले स्पिकरमा रेकड गरिएका गीत बजाउन थालिएको छ । आज राजधानीमा प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानको शुभारम्भ गरियो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज एक कार्यक्रमबीच ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानको शुभारम्भ गर्नुभएको हो ।कार्यक्रममा ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानमा सहयोग गर्नुहुने वरिष्ठ कलाकारहरु, कलाकार र समाजसेवीहरूलाई सम्मान गर्नुहुदै उहाले ट्राफिक नियम उलंघन गर्ने कारण पहिचान गरी त्यसको स्थायी समाधान खोज्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकारहरु मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्देशक तथा कलाकार दीपाश्री निरौला, कलाकार जितु नेपाल र काठमाडौ महानगरपालिकाका शहरी सुव्यवस्थापन विभागका प्रमुख, हरिबहादुर कुँवरले आ(आफ्ना मन्तव्य राख्नुभएको थियो ।काठमाडौ महानगरपालिकाको सहकार्यमा उपत्यकाका विभिन्न चोकहरुमा डमी ट्राफिक प्रहरीको प्रयोग गरी ट्राफिक नियम पालना गराउन, नागरिकलाई सचेत गराउन र सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले यो कार्यको सुरुवात गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताउनुभएको छ ।

कार्यक्रममा सामाजिक अभियन्ता एवं समाजसेवी, याङजोङ शेर्पा, राधा पोखरेल, पत्रकार लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो । कार्याक्रम ट्राफिक प्रहरीले ट्राफिक सचेतनासम्बन्धी नृत्य प्रस्तुत गरेका थिए । ट्राफिक सचेतना अभिवृद्धि गर्ने उदेश्यले उपत्यकाका विभिन्न स्थानमा डमी ट्राफिक प्रहरी राखिएको छ ।